ऐतिहासिक जीराभवानी मन्दिरमा महाशिवरात्रिको मेला लाग्दै

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

ओमप्रकाश चौधरी, सेढवा, २३ फागुन/
पर्सा जिल्लाकै ऐतिहासिक तथा धार्मिक महŒव बोकेको जीराभवानी मेला आउँदो महाशिवरात्रिका दिनदेखि १० दिनका लागि लाग्दैछ । फागुन २५ गते महाशिवरात्रिको दिनदेखि मन्दिरमा लाग्ने मेलामा बारा, पर्सा, चितवन, मकवानपुर तथा भारतका बिहार र उत्तर प्रदेशका भक्तजन आउने गर्छन् । महाशिवरात्रिका दिन भक्तहरूले विशेष पूजा, जल, प्रसाद, बेलपत्र चढाइ पूजापाठ गर्नुका साथै भाखल अनुसार विशेष पूजा अर्चना गर्ने गर्छन् ।

ग्रामीण भेगका थारू समुदायलगायत अन्य समुदायबीच व्यापारिक, सामाजिक तथा अन्य पक्षको सम्बन्धमा यो मेलाले राम्रो भूमिका खेल्दै आएको छ । साथै हरेक समुदायले यो मेला तथा यहाँका देवीदेवताप्रति आस्था र विश्वास राख्दै आएका छन् ।

मेला सम्बन्धमा प्राचीन किंवदन्ती हेर्ने हो भने यो मन्दिरको उत्पत्ति झन्डै ४०० वर्षभन्दा पहिले सामान्य मठबाट थालनी भएको हो । तत्कालीन अवस्थामा मन्दिर आसपास पर्ने सेढवा, महादेवपट्टि, पिपरडाढी, परसवा, जीतपुरलगायत गाउँ थिए । जङ्गलभित्रै अवस्थित ती गाउँहरूमा आदिवासी थारू समुदायको मात्रै बसोवास थियो । थारू समुदायमा अहिले पनि खोलामा माछा, घोंगी, केकडा (गङ्गटो) मारी तरकारी बनाइ सेवन गर्नु विशेषता हो । जीराभवानी मन्दिरको पूर्व चमरी खोला त्यति बेला जङ्गलबीच पथ्र्यो । सो क्षेत्रमा जङ्गली जनावरको डरले दिउँसै मानिसहरूको आवागमन चुनौतीपूर्ण थियो ।

महादेवपट्टि निवासी बिसुन महतो खोकी (माछा मार्ने जाल) लिई माछा मार्न चमरी खोला पुगेका थिए । खोलाको पानीमा खोकी थाप्दा माछाको साटो एउटा कालो ढुङ्गा प¥यो । ढुङ्गा फाली पुनः खोकी थाप्दा सोही कालो ढुङ्गा खोकीमा फेरि प¥यो । अन्त्यमा दिक्क लागी सो कालो ढुङ्गालाई खोलाको किनारमा फाली रित्तै घर फर्के । घर पुग्दा परिवारले माछाबारे सोध्दा बिसुन महतोले सबै कुरा बताए । राति उनले सो ढुङ्गा सामान्य नभएर शिवलिङ्ग हो र ढुङ्गा फालेकै ठाउँमा मन्दिर निर्माण गर्नुपर्ने सपना देखे । भोलिपल्ट बिहानै थारू शिवलिङ्ग खोज्दै खोला किनारमा पुगे । शिवलिङ्ग भेटिएपछि सोही ठाउँमा राखी सानो झोपडी निर्माण गरी बिहान–बेलुका पूजाअर्चना शुरू गर्न थाले । बिस्तारै यस कुराको चर्चा फैलिन थाल्यो र विभिन्न चाडपर्वमा पूजाअर्चना गर्न जनसमुदायको भीड बढ्न थाल्यो र हरेक वर्ष महाशिवरात्रिका दिनदेखि मेला लाग्ने परम्परा शुरू भयो ।

मठ स्थापनाको करीब ४०–५० वर्षपछि यस क्षेत्रका जनताले चन्दा उठाएर मन्दिर निर्माण गर्ने सुर कसे । जीरा भनिने मिस्त्री (डकर्मी) ल्याइ पक्की मन्दिर निर्माण गरियो । निर्माण कार्य सम्पन्न भएपछि सोही स्थानमा मिस्त्रीको मृत्यु भयो । भगवान् शिव रिसाए भन्दै समुदायमा खैलाबैला मच्चियो र मन्दिरमा भवानी दुर्गालाई स्थान नदिइएको कारण मिस्त्रीको मृत्यु भएको ठहर गर्दै भवानी दुर्गाको मन्दिर स्थापना गरी डकर्मी जीराकै नामबाट जीराभवानीमाई नामकरण गरियो । र शिव मन्दिर बाबा बटेश्वरनाथको नामले प्रसिद्ध हुन थाल्यो । जीराभवानी मन्दिर स्थापनापछि यस क्षेत्रमा आइपर्ने सङ्कटबाट जीराभवानीमाईले जोगाउँदै आएको जनविश्वास रहेको छ । साथै यस मन्दिरमा वर्षभरि नेपालका विभिन्न जिल्लाका साथै भारतको बिहार र उत्तर प्रदेश राज्यसम्मका श्रद्धालुभक्तहरूको घुइँचो लाग्ने गर्छ । पर्साका ग्रामीण किसानहरूले लगाउने मुख्यबाली धानको केही अंश धानको बालाको झोटी बनाइ जीराभवानीको महाशिवरात्रि मेलाका बेला अर्पण गर्ने परमपरा रहिआएको छ । मेलाबाटै ग्रामीण किसानको कृषि तथा अन्य सामग्रीको पूर्ति हुने गरेको छ । किसानहरूले वर्षभरि पुग्नेगरी कोदालो, बन्चरो, खुकुरी, हँसिया, हलोमा लगाउने फाली, हेङ्गाको डारर, खुर्पी तथा भाँडाकुँडामा गाग्री, बाल्टिन, कराइ, थाल, कुकरलगायत घरेलु सामग्री खरीद गर्छन् । यो मेलामा फलमा बयर, भाँडाकँुडामा कराइ र कृषि सामग्रीमा कोदालो एकदमै प्रख्यात छ । यही ऐतिहासिक मन्दिरको नामबाट यस गाउँपालिकाको नामकरण भएको हो ।

जीराभवानी मन्दिर परिसरमा करीब १० बिघा जग्गामा बगैंचा भएपनि संरक्षणमा कुनै पहल देखिएको छैन । स्थानीय बासिन्दाको पहलमा चन्दा सङ्कलन गरी यहाँ एक दर्जनभन्दा बढी देवीदेवताको मन्दिर निर्माण भएका छन् । पर्खाल, विवाहमण्डप, चौतारा, प्रतीक्षालय निर्माण भइसकेका छन् भने धर्मशाला निर्माण गरिएको छ । खुला दिसामुक्त क्षेत्र अभियान अन्तर्गत जिविसले पाँच कोठे पक्की शौचालयसमेत निर्माण गरिदिएको छ । सङ्घीयता लागू भएसँगै मन्दिरको संरक्षण तथा विकास हुन थालेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।