दुर्गा पल्समा मजदूरको श्रम शोषण भएको आरोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २३ फागुन/
वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित दुर्गा पल्स प्रालिले मजदूरहरूको श्रम शोषण गरेको आरोप लागेको छ ।

सरकारले तोके न्यूनतम ज्यालाभन्दा निकै कममा उद्योगले मजदुरहरूलाई काम गराउँदै आएको त्यहाँ कार्यरत मजदूरहरूले बताए ।

श्रम ऐन अनुसार आठ घण्टा काम गरेबापत दैनिक रु ५१८ का दरले पारिश्रमिक दिनुपर्नेमा उद्योगले त्यहाँ कार्यरत मजदूरहरूलाई दैनिक रु ३६६ मात्र दिने गरेको मजदूरहरूको गुनासो छ ।

श्रम ऐन अनुसारको सेवा सुविधाहरू मजदूरले माग्न थालेपछि उद्योगले मजदूरहरूलाई तर्साउनका लागि निष्कासन गर्न थालेको छ । यसै क्रममा आठ वर्षदेखि सो उद्योगमा काम गर्दै आएका राजेश्वर महतोलाई फागुन २२ गते निष्कासित गरिएपछि उद्योगमा विवाद भएको छ ।

मजदूर महतोलाई हिजो गेटबाट भित्र प्रवेश गर्न नदिएपछि स्थानीयवासीले उनको साथ दिंदै कारखानामा विवाद गरेका थिए । निष्कासनको उचित कारण नभएको र पारिश्रमिक माग्दा गेट रोक्का गर्नु न्यायोचित नभएको भन्दै स्थानीयवासीहरूले उद्योग प्रशासनको ध्यानाकर्षण गराएका थिए । महतोको विषयलाई लिएर कारखानामा तनाव शुरू भएपछि प्रहरी परिचालन भएको थियो ।

हिजोको विवादपछि कारखाना प्रशासनले गेट रोक्का गरेको महतोलाई काममा फिर्ता बोलाएको थियो भने विवादको समाधान वार्ताबाट गरिने सञ्चालक प्रतीक अग्रवालले बताए । सो उद्योगमा करीब सय जना मजदूर कार्यरत छन् ।

आठ वर्षदेखि सञ्चालित यो उद्योगमा अहिलेसम्म मजदूरहरूलाई स्थायी गरिएको छैन । सञ्चालक अग्रवालले उद्योगमा ठेकेदारमार्फत मजदूरहरू राखेर काम गरिरहेको र सोहीअनुरूपको पारिश्रमिक दिएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।