काबुल, २३ फागुन/एएनआई
इरान, पाकिस्तान र टर्कीबाट एक महीनामा करीब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् ।
तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनस्र्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ ।
“जनवरी महीनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैरखाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरहरूमा जाने व्यवस्था गर्नेगरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ ।
“प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ,” शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भने ।
साथै स्वदेश फर्केका केही आप्रवासीले तालिबान सरकारसँग उनीहरूलाई रोजगारको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीहरूबारे पायिन्दा थर बताउने अफगान नागरिकले भने, “तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौं, त्यसैले स्वतन्त्ररूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।”
उनले भने, “हालैका वर्षहरूमा शत्रुताका कारण लाखौं मानिस देश (अफगानिस्तान) छोड्न बाध्य छन् ।”
विदेश रहँदाको अनुभव सुनाउँदै हालै इरानबाट स्वदेश फर्किएका नाजानिनले भनिन्, “उनीहरूले पहिले मेरा पतिलाई लगे । पछि उहाँले फोन गरेर आफूलाई इरानी जेलमा राखिएको बताउनुभयो । चार दिनपछि म उहाँलाई भेट्न गएँ । इरानी प्रशासनले हामीलाई देश छोड्न चेतावनी दिएको रहेछ । पतिले हामीलाई तीन दिनको समय दिनुहोस्, हामी यहाँबाट जान्छौं भन्नुभयो र स्वदेश फर्कियौं ।”
उनले थपिन्, “तीन दिनपछि हामी स्वदेश फर्किएका छौं । तर यहाँ हाम्रो बास र खाने प्रबन्ध मिलाउन कठिन भइरहेको छ किनकि दुव्र्यवहार हुन सक्ने डरमा हामी आफ्नो जन्मस्थान पुग्न सकेका छैनौं ।”
“सरकारले रोजगारको अवसर प्रदान गर्नुपर्छ ताकि कोही पनि फेरि इरान फर्कन नपरोस् र हामी सबैले आफ्नो मातृभूमिमा आफ्नो प्रगति गर्न सकौं,” सोही समूहमा इरानबाट स्वदेश फिर्ता भएका खैरुद्दीनले टोलोन्यूजलाई बताए ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पाकिस्तानबाट जबरजस्ती देश निकाला गरिएका अफगानी आप्रवासीहरूको दुर्दशाका बारेमा चिन्ता व्यक्त गरेको छ । उनीहरू अहिले केवल बाँच्नको लागि पैसा सापटी लिने र उधारोमा सामान किन्ने गरिरहेका छन् ।
विकराल अवस्थालाई उजागर गर्दै डब्लुएफपीले अफगानी आप्रवासीहरू कुनै पनि सुविधा वा सहयोगबाट वञ्चित भएर बाँच्नका लागि ऋण लिनैपर्ने अवस्था रहेको सङ्गठनको वेबसाइटले देश निकाला गरिएका अधिकांश आप्रवासी हाल अन्योलको अवस्थामा रहेको कुरालाई जोड दिएको छ ।
विश्व खाद्य कार्यक्रमले खाद्य सहायताको लागि एक महŒवपूर्ण आवश्यकतामाथि जोड दिंदै केही फर्केका आप्रवासीहरू अझै पनि भोकमरीसँग जुधिरहेका बताएको छ । अफगानिस्तानमा आप्रवासी समस्या र खाद्य सुरक्षा गम्भीर बनेको डब्ल्युएफपीले जनाएको छ ।
शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर)का अनुसार छिमेकी देशहरूबाट अफगान शरणार्थीहरूको निरन्तर फिर्ती बढ्दो मुद्रास्फीति र शरण दिइएका देशहरूमा रोजगारका अवसरहरूको अभावसँग सम्बन्धित छ ।
हाल इरान, टर्की र पाकिस्तानमा करीब ६० लाख अफगानी आप्रवासी रहेका बताइएको छ । सन् २०२१ को अगस्तमा तालिबान सत्तामा फर्किएपछि हजारौं अफगानी उत्पीडन र ज्यान मार्ने धम्कीका डरले अफगानिस्तानबाट भागेर छिमेकी देशहरूमा गएका थिए । यीमध्ये अधिकांश मानिस अवैध च्यानलहरूमार्पmत ती मुलुकहरूमा प्रवेश गरेकामा अहिले गम्भीर समस्याको सामना गरिरहेका छन् । रासस