प्रस, वीरगंज, १४ फागुन/
नेशनल मेडिकल कलेजको विवाद चुलिंदैछ । हिजो मेडिकल कलेजका नयाँ प्रबन्ध निर्देशक डा शाहनवाज अन्सारीले पत्रकार सम्मेलन गरेर पूर्व प्रबन्ध निर्देशक एवं काका बसरूद्दीन अन्सारीलाई पदमुक्त गरेको र उनको नेशनल मेडिकल कलेजमा १० प्रतिशत मात्र शेयर भएको बताएका थिए ।
फागुन ४ गते बसेको बोर्ड बैठकले अध्यक्षमा पिता डा जैनुद्दीन अन्सारीसहित छजना चयन गरेको र डा अन्सारीकै अध्यक्षतामा आफूसहित तीन सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको जानकारी गराएका थिए । पत्रकार सम्मेलनपछि कलेजका पूर्व प्रबन्ध निर्देशक अन्सारीले आफूलाई दाइ डा जैनुद्दीनले धोका दिएको अभिव्यक्ति दिएका छन् । उनले पत्रकारहरूसँग आफूलाई जानकारी नै नदिएर बोर्ड बैठक बसेको र सञ्चालक समिति गठन गरेको आरोप लगाएका छन् ।
कलेजको शुभारम्भमा आफूहरू चार दाजुभाइ डा अन्सारी, ताजुद्दीन अन्सारी, नसरूद्दीन अन्सारीसमेतको जग्गा बैंकमा धितो राखेर शुरू गरेको र दाइले ५० प्रतिशतको अंशियार मौखिकरूपमा भनेको तर पछिल्लो समयमा दाइले धोका दिएको आरोप लगाए ।
उनले पछि मिलाउनेगरी रजिस्ट्रारको कार्यालयमा आफ्नो शेयर १० प्रतिशत र दाइले ९० प्रतिशत लिएको र त्यसैलाई कानूनी आधार बनाएर आफूमाथि प्रहार भएको आरोप लगाए । उनले आफूसमेत नेशनल मेडिकल कलेज काठमाडौं, नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा अंशियार रहेको र सोको हिसाबकिताब गर्न भन्दा आनाकानी गर्दै आएको बताए ।
घरायसी कुरालाई अहिले पत्रकार सम्मेलनमार्फत बाहिर ल्याइएकोमा दुःखेसो व्यक्त गर्दै यसको समाधान परिवारका चारैजना दाजुभाइ मिलेर गर्नुपर्ने भनेको तर कलेजका अध्यक्ष दाजु डा जैनुद्दीनले नमानेको आरोप लगाएका छन् । उनले कलेजको स्थापनाकालदेखि अहिलेसम्मको प्रगतिमा आफ्नो समान सहभागिता रहेको तर दाइको भूमिका चेकमा सही गर्नेबाहेक केही नरहेको भन्दै अहिले आएर आफ्ना छोराछोरी, सालाहरूलाई मात्र लक्षित गरेर काम गरिरहेको आरोप लगाए ।
उनले तीन महीनादेखि आफ्नो भागको हरहिसाब गर्न माग गरेको तर दाजु डा अन्सारीले हरहिसाब नगरेको बताए ।
नेशनल मेडिकल कलेजमा सोमवारदेखि कर्मचारीहरू बहिरङ्ग विभाग बन्द गरेर हडतालमा उत्रेका छन् । उनीहरूले बहिरङ्ग विभाग अगाडि धर्ना दिएर सेवा बन्द गरेका छन् । आइतवार नयाँ सञ्चालक समितिले नौजना कर्मचारीलाई निष्कासन गरेपछि कलेजका कर्मचारीहरू आजदेखि हडतालमा उत्रेका हुन् । उनीहरूले लामो समयदेखि कलेजमा काम गर्दै आएको तर विनाकारण नौंजना कर्मचारीलाई हटाएपछि आफूहरूलाई पनि आलोपालो गरी हटाउने भयका कारण हडतालमा उत्रेको जनाएका छन् ।
मेडिकल कलेजमा भाइभाइबीचको अंशको विवाद बढेपछि कलेज केही महीनादेखि तनावग्रस्त छ । यस अघि छात्रवासको विषयलाई लिएर विवाद भएको थियो भने सोसँगै छात्रवासको दुईजना विद्यार्थीको मृत्युको विषय पनि चर्काइएको थियो ।
नेशनल मेडिकल कलेज स्थापनाकालमा रु ५ करोडमा शुरू भएको र अहिले यसको शेयर मूल्याङ्कन मात्र २६ अर्ब छ । नेपाल मेडिकल कलेजमा डा जैनुद्दीनले भाइ बसरूद्दीनलाई प्रबन्ध निर्देशकबाट हटाएर ५१ प्रतिशतको हकदाबीसहित एक महीना अगाडि प्रबन्ध निर्देशक भएका थिए । सोही बखतदेखि अन्सारीबन्धुबीचको झगडा छताछुल्ल भएको हो । अहिले मेडिकल कलेजमा दिनहुँजसो विवाद भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा डेढ महीना अगाडि डा जैनुद्दीनले शान्ति सुरक्ष्Fाको निवेदन दिएका थिए । भाइबाट असुरक्षा भएको भन्दै उनले प्रशासनमा उजूरी दिएको र त्यसको दुई हप्तापछि बसरूद्दीनले पनि शान्ति सुरक्षा सम्बन्धमा उजूरी निवेदन दर्ता गराएका थिए । अहिले पनि कलेजमा प्रबन्ध निर्देशकको हैसियतले बसरूद्दीन विराजमान छन् र पद र कार्यालय छाड्न मानेका छैनन् । विवादको समाधान प्रतीक्ष्Fाको विषय बनेको छ ।