प्रस, वीरगंज, १४ फागुन/
वीरगंज कलेजले सोमवार पत्रकार सम्मेलन गरेर यस वर्ष पनि ‘सिक्दै कमाउँदैं’ कार्यक्रम अन्तर्गत दुई दिने खाना तथा सांस्कृतिक मेला आयोजना गर्ने बताएको छ ।
कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी निर्देशक डा दीपेन्द्र चौधरीले यही फागुन १८ देखि १९ गतेसम्म दुई दिन खाना तथा सांस्कृतिक मेला आयोजना भइरहेको बताए । गत वर्षको सफलतापछि विद्यार्थीहरूमा ‘सिक्दै कमाउँदै’को अवधारणा र उद्यमशीलता विकास गर्न तथा पर्सा, बाराको लोक सांस्कृतिक परम्परागत खानाको प्रवद्र्धनको लागि मेला आयोजना गर्न लागेको बताए ।
उनले मेलामा आयोजना हुने सबै खर्च क्याम्पस र प्रायोजकहरूबाट बेहोरिने जानकारी गराए । यसमा विद्यार्थीहरूको सहभागिता मात्रै हुने र स्टलबाट हुने आम्दानीको भागीदारी विद्यार्थी हुने जानकारी गराए ।
बिपी उद्यानमा दुई दिने खाना तथा सांस्कृतिक मेला आयोजना हुन लागेकोले निश्शुल्क मेला अवलोकन गर्न उनले सबैलाई आमन्त्रण गरे । पत्रकार सम्मेलनमा क्याम्पसका निर्देशक विनोद गुप्तालगायतको सहभागिता थियो ।