काठमाडौं, २३ माघ/रासस
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनले भने–“देशको उच्च पहाडी तथा हिमाली भूभागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भूभागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भवना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भवना छ ।”
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि वर्षाको सम्भवना नरहेको र काठमाडौंको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।
यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।