प्रस, परवानीपुर, २२ माघ/
वीरगंज–१७ अलौंस्थित द्वारदेवी माविमा कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्ने विषयमा केही दिनदेखि विद्यार्थीहरूले गरेको विवाद साम्य हुँदै गएको छ ।
वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीको सक्रियतामा अभिभावक एवं भद्रभलादमीबीच भएको छलफलले विवाद साम्य बन्दै गएको विद्यालयका प्रधानाध्यापक दयाकान्त झाले जानकारी गराए । उनले विवादकै कारण तीन दिनदेखि विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको बताए । विद्यार्थीहरूले मासिक रु पाँच सय शुल्क तिर्नुपर्ने नियम नै पालना गर्नुपर्ने छलफलमा निर्णय भएकोले विद्यार्थीहरूलाई सम्झाइबुझाइ विद्यालय सञ्चालन हुन थालेको उनको भनाइ थियो ।
सोमवार विद्यालय राम्ररी चलेको उनले बताए । यसअघि मावि तहसम्म अध्ययन निश्शुल्क भएको महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रतिनिधिले एक कार्यक्रममा भनेपछि विद्यार्थीहरूले शुल्क नदिनका लागि विवाद गरेका थिए । विद्यार्थीहरूले कक्षाकोठामा तालाबन्दी गरी विरोध जनाएका थिए ।
कक्षा ११ र १२ मा शिक्षा र वाणिज्य सङ्कायको पठनपाठन भइरहेको र विद्यालयका शिक्षकले सबै विषय अध्यापन गराउन नसकेपछि विद्यFलयले तीनवटा विद्यालयका शिक्षकहरू करारमा नियुक्त गरी कक्षा सञ्चालन गरिरहेको छ । सोही सञ्चालन खर्चबापत न्यूनतम शुल्क विद्यार्थीबाट मासिक रु पाँच सय लिइने निर्णय भएको थियो । विद्यार्थीहरूले मासिक शुल्क विद्यालयको खातामा बैंकमैं गएर जम्मा गर्न सक्ने व्यवस्था छ ।