प्रस, वीरगंज, १३ माघ/
पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले देशमा अहिले सर्वत्र निराशा र आक्रोश बढेको बताएका छन् । वीरगंजमा बिपी उद्यानको लालबङ्गलामा शनिवार आयोजित नागरिक अभिनन्दन समारोहमा विभिन्न सङ्घसंस्थाबाट अभिनन्दनपत्र ग्रहण गरेपछि उनले देशको सर्वाङ्गीण उन्नति होस् र भेदभावरहित वातावरणमा देशको भलो होस् भनेर जनताले सोच्नुपर्ने बेला आएको बताए । पूर्वराजा शाहले देशलाई अप्ठेरो परेको अवस्थामा देशमैं बसेर देशमा योगदान गर्न २०६२ जेठ २९ गते राष्ट्रको नाममा सम्बोधन गरी आफूले श्रीपेचसमेत सुम्पेर शान्ति कायम गरेको चर्चा गर्दै २०५८ सालमा राजपरिवारमाथि भएको विनाशकारी घटना स्मरण गर्न नसक्ने बताए ।
पूर्वराजा शाहले तराई–मधेसको उर्वर भूमि उजाड बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै तराई, पहाड, हिमाल सबै क्षेत्र उजाड बन्दै जानु गम्भीर चिन्ताजनक विषय भएको बताए । उनले उत्पादन र कृषिबाटै विकास र समृद्धि ल्याउन सकिने भन्दै सोही क्षेत्र उजाड बन्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उर्वर तराई–मधेसको भूभाग आज उजाड बन्दै गइरहेको छ, पोखरी, पानीको स्रोत, ट्युबेल, कुवा, धारा तथा जल सतह सुकेर खडेरी तथा मरुभूमिमा परिणत हुँदै जानु गम्भीर भएको बताए ।
देशमैं रोजगार सिर्जना नहुँदा युवाशक्ति विदेशिन बाध्य भएकोमा पनि उनले चिन्ता व्यक्त गरे । गरीबीका कारण विदेशिनुपर्ने बाध्यताको अन्त्यका लागि जागरूग हुनुपर्नेमा उनले जोड दिए । हामीले हाम्रा पुर्खाको पौरखलाई नभुलौं, आफ्नो जन्मभूमिको लागि मरिमेटौं । हाम्रो समस्या हामी आफैंले समाधान गर्नुपर्छ भन्दै पूर्वराजा शाहले निषेधको राजनीति गरी देशलाई विभाजनको खाडलमा लग्दा कसैको भलो नहुने ठोकुवा पनि गरे ।
देशभित्रकै प्राकृतिक स्रोतसाधन र जनशक्तिको सदुपयोग गर्दै विकास गर्नुपर्ने उनको भनाइ थियो । जातजाति, धर्म, संस्कृतिमा खण्डित नभएर विभेद, विखण्डन, विग्रह र निषेधको राजनीति गर्न नहुने उनको सुझाव थियो ।
नागरिक अभिनन्दनमा पूर्वमहारानी कोमल शाहलगायत राजावादी सङ्घसंस्थाका प्रमुख, राजतन्त्र समर्थकहरूको सहभागिता थियो । नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक वीरेन्द्रलाल नेपालीले स्वागत, हीराबहादुर चन्दले सहजीकरण र पशुपति विक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए ।