वित्तीय संस्थाले बीमाको क्षतिपूर्ति दिलाउन पहल नगरेको आरोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १२ माघ/
बारा, फेटा गाउँपालिका–१ भरवलियाकी गौदमियादेवी कुर्मिनको बीमाको क्षतिपूर्ति पाउन ढिलाइ भइरहेको परिवारजनको गुनासो छ ।

कुर्मिनले २०७८ कात्तिक १५ गते छिमेक लघुवित्त वित्तीय संस्था कलैया शाखाको भरवलिया ३३५८–४ (४) नम्बर गोलियाबाट १५ प्रतिशत ब्याजमा विनाधितो रु पाँच लाख कर्जा लिएकी थिइन् । सोही बेला वित्तीय संस्थाले सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीसँग सम्झौता अनुसार बीमा पनि गरेको थियो ।

वित्तीय संस्थामा ऋणी भएको अवस्थामा मृत्यु हुँदा तिर्नुपर्ने ऋण र साँवा मिनाहा हुने र बीमा कम्पनीबाट सो कर्जा क्षतिपूर्तिको रूपमा वित्तीय संस्थालाई पाउने नियम छ । गौदमिया देवीको २०८० कात्तिक २८ गते ७० वर्षको उमेरमा निधन भएको थियो । उनले २०८३/४/२४ सम्म पाँच वर्षको लागि ६० किस्ता तिर्नुपर्ने शर्तमा कर्जा लिएकी थिइन् । निजका छोरा रामजीप्रसाद कुर्मीले बीमितले पाउनुपर्ने सबै कागजात वित्तीय संस्थामा पेश गर्दासमेत बीमा रकम क्षतिपूर्तिबारे वित्तीय संस्था उदासीन भएको उनको आरोप छ ।

यस विषयमा छिमेक कलैया शाखाका मोहनलाल चौधरीसँग कुरा गर्दा उनले विनाधितो कर्जामा बीमाको जोखिम अवधि ६९ वर्षसम्म मात्र भएकोले क्षतिपूर्तिबापत बीमा रकम नपाउने बताए । चौधरीका अनुसार गौदमिया देवीको २०८० जेठ २९ गते ६९ वर्ष पार गरिसकेकोले र उनको बीमाको नगद भुक्तानी सोही मितिमा छिमेक बैंकमा फिर्ता आइसकेकोले उनको निधनपश्चात् बैंकबाट मात्र रु पाँच हजार क्ष्Fतिपूर्ति पाउने व्यवस्था रहेको जानकारी गराए ।

गौदमियादेवीले हालसम्म एक लाख ६७ हजार ९१८ साँवा र एक लाख ३० हजार ८०४ ब्याज तिरिसकेकी छन् भने पुस महीनादेखि कुल तीन लाख ४१ हजार ३१५ तिर्न बाँकी देखिन्छ । उनको निधनपछि बाँकी किस्ताको स्वामित्व ग्रहण परिवारजनले लिनुपर्ने लघुवित्त संस्थाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।