ओमप्रकाश चौधरी, वीरगंज, १० माघ/
दुई सातादेखि बढ्दै गएको चीसो, शीतलहर र हुस्सुका कारण पर्साको ग्रामीण जीवन कष्टकर भएको छ भने बालीलाई फाइदा पुगेको छ ।
हिउँदेबाली अन्तर्गत गहुँ, सुर्ती, मुसुरो तथा उम्रिसकेको मकैबालीलाई फाइदा पुगेका ठोरी गाउँपालिका–५ का हरिप्रसाद चौलागाईंले बताए । यस वर्ष दुई सातादेखि शीतलहर चलेका कारण यी बालीहरू राम्ररी फस्टाएका चौलागाईंले बताए । हुस्सुका कारण सुर्तीका पातहरू चौडा र लामा भएका किसानहरूको भनाइ छ ।
वस्तुभावलाई समस्या
अत्यधिक चीसोका कारण वस्तुभाउहरू समस्यामा पर्दा किसानहरू चिन्तित भएका छन् । खेतबारीमा बाली लगाइएकाले गाई, भैंसी र बाख्रा चराउन तथा घाँस नपाउँदा समस्या भएको पटेर्वासुगौली गाउँपालिकाकी प्रमिला चौधरी थारूले बताइन् । व्यावसायिक पशुपालन गरेका किसानहरूले घाँस उत्पादनका लागि खेती गरे पनि परम्परागतरूपमा पशुपालन गरेका किसानहरूलाई भने घाँसको लागि निकै समस्या भोग्नुपरेको थारूले बताइन् । कतिपय किसानहरू घाँसका लागि जङ्गलमा स्याउला लिन जाँदा स्याउला नपाएको अवस्था छ ।
यसैगरी, कठ्याङ्ग्र्रिदो चीसो र स्याँठका कारण ग्रामीण जनजीवन कष्टकर बन्दै गएको हो । दिनभरि घाम नलाग्ने, निरन्तर चीसो बढ्दा दैनिक ज्यालादारी गर्ने मजदूरहरूले काम गर्न नपाउँदा उनीहरूलाई छाक टार्नसमेत कठिनाइ भएको छ ।
चीसोले विशेषगरी ससाना बालबालिका, वृद्धवृद्धाहरूलाई निकै कठिनाइ भएको जीराभवानी गाउँपालिका–२ सेढवाका भगवान चौधरीले बताए । जाडोका कारण ग्रामीण भेगका बाटोघाटो सुनसान रहेका र अधिकांश नागरिक घरभित्रै बस्नुपरेको चौधरीले बताए । शीतलहरले गर्दा चीसो बढेपछि हातगोडा कठ्याङ्ग्रिने र बाक्लो हुस्सुका कारण बाटो हेर्नसमेत कठिनाइ भएकोले दुर्घटनाको जोखिम पनि बढेको छ ।