मात्र सुनी नबसौं, प्रश्न राखौं

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

अर्थमन्त्री डा प्रकाशशरण महतले सिम्रौनगढ छोटी भन्सार नाकाको स्तरोन्नति गर्ने आश्वासन दिएका छन् । माघ ७ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिका पुगेका उनले छोटी भन्सार कार्यालयको निरीक्षण गर्दै उक्त आश्वासन दिएका हुन् । यसो त उनी पहिलो अर्थमन्त्री होइनन्, जसले यस्तो आश्वासन दिएका हुन् । विगतका अर्थमन्त्री र मन्त्रीहरूले समेत सिम्रौनगढ छोटी भन्सार विस्तार गर्ने विषय उठाएका थिए । तर करीब पाँच दशक अघि स्थापना भएको यस छोटी भन्सारले फड्को मार्न भने सकेको छैन । नाम अनुसारकै उसको काम छ । यसो त रौतहटदेखि पर्सासम्मको सीमा नाकामा रहेका छोटी भन्सारहरूको स्तरोन्नति भएको छैन । एकीकृत सुरक्षा जाँचचौकी (आइसिपी)को निर्माण नभएको भए अलौं छोटी भन्सारको अवस्थामा पनि सुधार आउने थिएन । पर्साका ठोरी, जानकीटोला र श्रीसिया, बाराका मटिअर्वा, सिम्रौनगढमा छोटी भन्सार छन् । अहिले ठोरी र जानकीटोलामा रहेका छोटी भन्सार सञ्चालनमा नरहेको लामो समय भयो । सञ्चालनमा रहेका छोटी भन्सारहरूको अवस्थामा पनि खासै परिवर्तन भएको छैन ।

उहिलेदेखि छोटी भन्सारलाई रु पाँच हजारसम्मका सामानहरूको मात्र भन्सार काट्ने अधिकार थियो, अहिलेसम्म पनि त्यही दायरा छ । अहिलेको अवस्थामा कतिपय घरायसी सामानको मूल्य रु पाँच हजारभन्दा बढी पर्छ । यसो त पर्सा, बारा र रौतहटका सीमावर्ती क्षेत्रका मानिसहरू घरायसी सामानहरू छिमेकी भारतको सीमावर्ती बजारहरूबाट खरीद गरी लिएर आउँछन् । चाहे त्यो रक्सौल बजार होस् अथवा भेलाही, इनर्वा, सिकटा, नरकटियागंज, भिखनाठोरीबाट पर्सा जिल्लाका मानिसहरू घरायरी सामानहरू खरीद गर्छन् । उनीहरू बेलाबखतमा दुवैतर्फका सीमा सुरक्षाकर्मीहरूबाट दुःख सहन पनि बाध्य हुन्छन् । विषम परिस्थितिबाहेक सीमावर्ती क्षेत्रका मानिसहरूको आवश्यकताको पूर्ति भारतीय बजारहरूबाटै हुँदै आएका छन् । बारा जिल्लामा पनि सोही अवस्था छ । विश्रामपुरका मानिसहरू रक्सौल बजार र मटिअर्वादेखि रौतहटको बङ्कुलसम्मका मानिसहरू आदापुर, छौडादानो, चैनपुर र घोडासहन बजारमा आश्रिम छन् । यो क्षेत्रमा शुरूदेखि पर्साको भिस्वा बजार व्यापारिक कारोबारमा गुलजार थियो र अहिले पनि छ । बाँकी ठोरी, जानकीटोला, लङ्गडी, अमरपट्टी अनि बाराका मटिअर्वा, बेल्दारी, कबही, पचरौता, नरकटिया, सिम्रौनगढ र रौतहटको बङ्कुल बजार उहिले जस्तो थियो अहिले पनि त्यस्तै छन् ।

छोटी भन्सारहरूको स्तरोन्नति हुन नसक्दा व्यापारीहरूले पायक अनुसार वीरगंज र गौर भन्सार कार्यालयबाट मालसामान जाँचपास गराइ छुटाउनुपर्ने अवस्था छ । वीरगंज र गौरबीचका सीमावर्ती क्षेत्रमा छोटी भन्सार मात्र छन् । त्यहाँबाट पाँच हजार मूल्यभन्दा बढीका मालसामानको जाँचपास हुँदैन । व्यापारीहरूले पाँच/पाँच हजार मूल्यका सामान पटकपटक जाँचपास गराउनु सम्भव नै भएन । त्यसैले यी क्षेत्रका बजारहरूको स्वरूप परिवर्तन हुन सकेको छैन । सिम्रौनगढको हकमा भने सोही क्षेत्रबाट अहिले मुख्यमन्त्री छन, उपराष्ट्रपति पनि छन् तर पनि छोटी भन्सारको स्वरूप उही छ । मन्त्रीहरूले अहिलेसम्म भाषण मात्र गरेका छन्, काम गरेका छैनन् । जुन स्थानमा गयो, त्यही स्थानमा यो गर्छु, त्यो गर्छु भनी धक्कू लगाउने, त्यहाँका स्थानीयहरू पनि बडो मजा लिएर सुन्ने अनि कसैले पनि फलानो समयदेखि भन्दै आएको कुरा किन नभएको भनेर प्रश्न राख्ने प्रवृत्तिले नभएकोले अहिलेसम्म हामी पछाडि परेका छौं ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।