रामसीताको विशाल मूर्ति

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

महोत्तरी, ८ माघ/रासस
आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ ।

अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राणप्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो । निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिंदैछ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ ।

श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राममन्दिरमा प्राणप्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी श्री लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राणप्रतिष्ठा गर्न लागिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

“स्थापित परम्परा अनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राणप्रतिष्ठा गरी पूजाअर्चना थालिनेछ,” नगरप्रमुख मण्डलले भने, “रामलीला (श्रीरामको बालस्वरूप)को प्रतिमा अयोध्यामा प्राणप्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौं ।” अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात् अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उनको भनाइ थियो ।

प्रतिमा स्थापित र प्राणप्रतिष्ठाको कार्यक्रमसँगै जोडेर बिहान पवित्र लक्ष्मीसागरमा आरती भएको छ । लक्ष्मीसागर तलाउअघि त्रेतायुगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्रस्थल मानिन्छ । आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिंदैछ । यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मीसागर र वरपर दुलहीझैं सिङ्गारिएका छन् । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा बनाएका हुन् । प्रतिमा बनाउन काठका २० वटा प्लाई (फलेक) प्रयोग भएको उनले बताए ।

आइतवार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगरक्षेत्रमा नगर शोभायात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चनाका कार्यक्रम भएको छ । श्रीरामलीलाको प्रतिमा प्राणप्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।