धनुषा, ८ माघ/रासस
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राममन्दिरको सोमवार उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ ।
आज भारतको अयोध्यामा राममन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राणप्रतिष्ठा दिइने चर्चाको विषय बनेको छ । यतिखेर जताततै चर्चाको प्रमुख विषय नै राममन्दिरको उद्घाटन बनेको छ । अयोध्यामा नवनिर्मित भगवान् रामको मन्दिरको प्राणप्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएका छन् भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् ।
राममन्दिरको प्राणप्रतिष्ठाका लागि जानकी मन्दिरको तर्पmबाट चाँदीका धनुष बाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ ।
राममन्दिरको प्राणप्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिएको जनकपुर उद्योग वाणिज्य सङघका अध्यक्ष जीतेन्द्र साहले जानकारी गराए । यसका साथै आज उत्सवका रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राममन्दिरको उद्घाटनको दिन दुवै मुलुकका लागि विशेष भएकोले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह गरिएको छ ।
त्रेतायुगमैं नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएको बेला नेपाल पनि उल्लासमय बनेको बताइएको छ । “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राणप्रतिष्ठाको अवसर हो,” जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशणदास वैष्णव भन्छन्, “भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राणप्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ, त्यो कम नै हुन्छ ।”
जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राणप्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकोले पालिकाभित्र माछा, मासु, मदिरा बिक्री वितरण नगर्न सबैमा अपील गरेको छ । त्यसैगरी, घरघरमा दीप बालेर खुशियाली मनाउन नगरप्रमुख मनोज साहले सबैलाई आग्रह गरेका छन् ।
आज सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दासले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्रमाथि कुनै निर्णय नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
सयौं वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुशियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, शहीदनगर, औरहीलगायत मधेस प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।