चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने जाक्साको भनाइ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

टोकियो, ८ माघ/एएफपी
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ले सोमवार जनाएको छ ।

जाक्साले भनेको छ, “टेलिमेट्री डाटा अनुसार स्लिमका सौर्य कोषहरू पश्चिम दिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।”

जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करीब तीन घण्टापछि मून ल्यान्डरलाई बन्द गरेको थियो ।

जापानको अन्तरिक्ष यानको मिशनलाई ‘मून स्नीपर’ नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलतापूर्वक पुग्ने पाँचौं देश बनाएको हो ।

मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत् उत्पादन नगरेको बताइएको थियो ।

जाक्साले भनेको छ, “हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्वीरको सङ्कलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौं ।”

“धेरै तथ्याङ्क प्राप्त भएको पुष्टि भएपछि हामी राहत महसूस गरिरहेका छौं र उत्साहित हुन थालेका छौं,” जाक्साले भनेको छ ।

जाक्साले यस मिसनको नतीजा र स्लिम क्राफ्टको स्थितिको बारेमा यसै हप्ता थप घोषणा गर्ने तयारी भइरहेको बताएको छ ।

“अवतरणपछिको मुद्रा योजना अनुसार भएन, तर हामी धेरै परिणाम प्राप्त गर्न सक्षम हुन सक्छौं र हामी खुशी छौं कि अवतरण सफल भयो ।”

चन्द्रमामा पहिलोपटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानहरूमध्ये स्लिम पनि एक हो ।

दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका
छन् । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।