प्रस, वीरगंज, ७ माघ/
भारतको अयोध्यामा सोमवार माघ ८ गते जनवरी २२ तारिखका दिन हुने राममन्दिर उद्घाटनलाई लिएर पर्सा जिल्लामा पनि धूमधामका साथ तयारी भएको छ ।
एक सातादेखि पर्सा जिल्लाका विभिन्न पालिकाहरूमा यसको तयारी भएको हो । अहिले वीरगंज महानगरपालिकाको घण्टाघरदेखि बिर्तासम्मको मेनरोडका पसल, घरहरूमा रामनामी झन्डा झुन्ड्याइएको छ । यसैगरी, घण्टाघरदेखि बिर्तासम्म मेनरोडका दुवैतर्पmका पोलहरूमा झालरबत्ती राखेर सडक झिलीमिली गरिएको छ । माईस्थानको गहवामाई मन्दिर परिसरमा अहिले रामनामी झन्डाको बिक्री बढेको छ । एक सातादेखि झन्डाको बिक्री बढेपछि व्यापारीहरूले मूल्य पनि बढाएका छन् । मोटरसाइकलमा राखिने दुईवटा झन्डाको रु १२०, पसलमा झुन्ड्याइने झन्डाको रु १२० र ठूलो झन्डाको रु एक हजारसम्ममा बिक्री भइरहेको छ । मोटरसाइकल, ईरिक्शा, टेम्पो, कार, साइकल आदिमा पनि झन्डा झुन्ड्याएर हिंड्नेहरूको सङ्ख्या बढेको छ ।
यसैबीच, वीरगंज महानगरपालिकाले वीरगंज–१० घडीअर्वास्थित रामजानकी मन्दिरमा राम भगवान्को प्रतिमाको प्राणप्रतिष्ठान सोही दिन गर्दैछ । यसलाई लक्षित गरेर पनि सो क्षेत्रमा झन्डा झुन्ड्याउने, सडक झिलीमिली गरिएको छ । रामजानकी मन्दिरमा तीन दिनदेखि भक्तजनहरूको भीड बढेको छ ।
धर्मेन्द्र चौरसिया, पोखरिया/
पोखरिया नगरपालिकामा पनि सोमवार भारतको अयोध्यामा हुने राममन्दिर उद्घाटनको विषयलाई लिएर ठूलो तयारी भएको छ । पोखरियाको बजार क्ष्Fेत्र र आसपासका टोलहरूमा रामनामी झन्डा झुन्ड्याउनुका साथै घर लिपपोत, मन्दिर सरसफाइ गर्ने कार्य भइरहेको छ । दीपावली, छठमा झैं मानिसहरूले घर सरसफाइ गर्ने, लिपपोत, रङ्गरोगनजस्ता कार्यहरू गरेका छन् ।