गृहमन्त्रीद्वारा सर्लाही कारागारको उद्घाटन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, ७ माघ/
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही जिल्ला कारागारको आइतवार उद्घाटन गरेका छन् ।

२०७२ सालमा शहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाले कारागार भवन निर्माणको कार्य प्रारम्भ गरेको थियो । आयोजनाले तीन चरणमा कारागार भवनको निर्माण कार्य सम्पन्न गरेको छ । पहिलो चरणमा चारवटा बुजी घर (सेन्ट्री पोस्ट) र सेक्युरिटी वालको काम सम्पन्न गरिएको थियो ।

त्यस्तै, दोस्रो चरणमा मुख्य संरचना अन्तर्गत सुरक्षाकर्मीका लागि ब्यारेक ब्लक, महिला र पुरुष कारागार ब्लक, महिला र पुरुषका लागि छुट्टाछुट्टै भेटघाट कक्ष, गार्ड हाउस, कैदीका लागि क्यान्टिन ब्लक, आर्थिक क्रियाकलापको लागि पसल, कारागारभित्र हस्तकलाको सामग्री उत्पादनको लागि वर्कशप एरिया, महादेव मन्दिर, शौचालय ब्लक, गोलघर निर्माणलगायतका कार्य सम्पन्न भएका थिए ।

त्यसैगरी, तेस्रो चरण अन्तर्गत चालू आर्थिक वर्षमा कारागारलाई तत्काल सञ्चालनमा ल्याउन आवश्यक तीनवटा ट्युबवेल जडान, चारवटा बुजी घर जाने पहुँच बाटो ढलान, पुरानो प्रशासनिक भवनको मर्मत तथा रङ्गरोगन तथा फिनिसिङ कार्य गरिएका छन् ।

कुल रु चार करोड ४५ लाख २७ हजार ६८७ रुपियाँँको लागतमा निर्माण भएको कारागार भवनमा पुरुष १६० र महिला ५० जना गरी जम्मा २१० जना कैदीबन्दी राख्ने क्षमता रहेको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यालय एकाइ जनकपुरका प्रमुख प्रदीप खनालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।