प्रस, रौतहट, ६ माघ/
‘मानवसेवा धर्म हो, जहाँ दुःख–त्यहाँ रेडक्रस’ नाराको साथ शनिवार नेपाल रेडक्रस सोसाइटी उपशाखा महादेवपट्टिको १८औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेरेसो, रौतहट शाखाका सभापति राजकिशोरप्रसाद यादवले विगत केही वर्षहरूमा भएका गडबढीले रेडक्रस लथालिङ्ग भएको र अहिले सुधार हुँदै आएको बताए ।
रौतहटलगायत देशैभरिका रेडक्रस शाखाहरूको अवस्था नराम्ररी प्रभावित भएकाले गतिविधि न्यून हुन पुगेको बताउँदै अब सुधार हुने क्रममा रहेको उनले बताए ।
उनले दातृ संस्थाहरूले दिएको रकमबाट गाडी तथा कार्यालय सजावटलगायतका अनियमित कार्यहरू भएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेपछि रेडक्रसमा गलत राजनीतिले ठाउँ लिएको जिकिर गरे । उजूरीकै कारण रेडक्रसको नवीकरणसमेत नभएको र गत साउनमा नवीकरणलगायतका कार्यहरू सम्पन्न भएर केन्द्रीय नयाँ समिति निर्माण भएपछि सुधारका कार्यहरू भइरहेकाले अब उपरान्त रौतहटमा पनि सुधार देखिने सभापति यादवले दाबी गरे ।
दातृ निकायले अनुदान तथा सहयोग नगरे पनि सानासाना कार्यक्रम तथा सहयोगको लागि आफू तत्पर रहेको बताउँदै जिल्लाभरिका आजीवन सदस्यहरूलाई भेला गराइ नयाँ कार्यदिशातर्फ अग्रसर हुनको लागि नेरेसो रौतहट लागिपरेको उनले बताए ।
उपशाखाका अध्यक्ष विजयकिशोर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नीलु झा, महासचिव धर्मेन्द्र सिंह, हेमन्तराय यादव, पूर्ववडाध्यक्ष राकेश झालगायतले शुभकामनासहितको सुभावहरू दिएका थिए ।
सचिव रामएकबाल साहले प्रशासनिक तथा सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष लालबाबू झाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।