प्रस, वीरगंज, ३ माघ/
वीरगंजका सिख समुदायले ‘गुरु गोविन्द सिंह’को जन्मजयन्ती मनाएका छन् । वीरगंजमा रहेका सिख समुदायले आज वीरगंजस्थित गुरुद्वाराबाट गुरु गोविन्द सिंहको जन्मजयन्तीको अवसरमा प्रभातफेरी निकालेका थिए ।
नगरपरिक्रमा गर्दै प्रभातफेरी गुरुनानक सत्सङ्ग गुरुद्वारामा पुगेर समापन भएको थियो । बिहान प्रभातफेरीपछि दिउँसो विशेष प्रार्थनाको आयोजना गरिएको थियो ।
गुरु गोविन्दका पिता गुरु तेघबहादुर नवौं सिख गुरु थिए । उनलाई तत्कालीन मुगल शासनकालमा धर्म परिवर्तन गरेर इस्लाम धर्म स्वीकार्न दबाब दिइएकामा उनले सो कुरालाई अस्वीकार गरेपछि दिल्लीको चाँदनीचोकमा उनको शिर काटेर हत्या गरिएको थियो । पिताको हत्यापछि गुरु गोविन्द १०औं सिख गुरुका रूपमा पुजिंदै आएका छन् ।