• सञ्जय साह मित्र
अहिले मात्र होइन, केही दशकदेखि बालविवाह जहिले पनि चर्चाको विषय रहँदै आएको छ । जब कतै कुनै घटना सार्वजनिक हुन्छ, अनि बालविवाह चर्चाको विषय बन्छ । जसले जे भने पनि, गाउँघरमा अझै बालविवाह पर्याप्त हुने गरेको छ । बालविवाह हुने, तर विवाह दर्ता भने उमेर पुगेपछि गराउने चलन बढेको छ । कतिपय घटना त त्यस्तो बालविवाहमा उमेर नै नपुगी बालबच्चा जन्मन्छन् । बालबच्चा विद्यालय जाने उमेरका भइसक्छन् तर विवाह दर्ता गर्ने उमेर पुगेको हुँदैन । विवाह भएको एक वर्षपछि पहिलो सन्तानको जन्म दर्ता हुन्छ । त्यही बेला जेठो सन्तानपछि आएको सन्तानको पनि जन्मदर्ता गराइन्छ, जुम्ल्याहा भनेर । जबकि दुई सन्तानमा तीन चार वर्षको उमेरको फरक रहेको हुन्छ । पहिलो सन्तानको उमेर दुई, तीन, चार वा पाँच वर्ष पुगेपछि जन्म दर्ता भएको पाइएको छ । यस्ता बालबालिका जब विद्यालय पुग्छन्, तिनको वास्तविक उमेर र कानूनी उमेरमा निकै भिन्नता हुन्छ । वास्तवमा यस्ता बालबालिकाले विद्यालयमा माथिल्लो कक्षामा पुगिसकेको अवस्थामा पनि तल्लो कक्षाको विद्यार्थी भइरहनुपर्ने हुन्छ र अन्ततः ठूलो हुँदै गएपछि पढाइ नै छोड्नुपर्छ ।
बालविवाह सामाजिक समस्या हो । ग्रामीण क्षेत्रमा अझै पनि धेरै ठूलो मात्रामा बालविवाह हुने गरेको यथार्थलाई सबैले बुझेका छन् । सबैले बुझेका छन् भन्नुको तात्पर्य विवाहमा सबै वर्गका मानिसको संलग्नता छ । कानूनले बीस वर्ष नपुगी विवाह गर्न नहुने बताएको वा विवाहको उमेर बीस वर्ष पु¥याइसकेको कुरा प्रायः अभिभावकलाई थाहा छ । र विवाहको उमेर बीस वर्ष हो भन्ने कुरा पनि प्रायः किशोरकिशोरीलाई जानकारी हुन्छ । विद्यालयका साथी वा सहपाठीबाट तथा विभिन्न विषयको पाठबाट यस विषयमा किशोरकिशोरीलाई जानकारी हुन्छ । किशोरावस्थामा अभिभावकको निर्णयप्रति विद्रोह गर्ने चेतना वा गुण आइसकेको हुँदैन । मुख्यगरी घरपरिवारमा केही समस्या भएका, कतिपय कारणले अभिभावकलाई छोराछोरीको सङ्ख्या धेरै भई क्रमशः निवृत्त हुँदै जाने मनसाय भएका, हजुर बुवा हजुरआमाले बढी कर गर्ने भएपछि तथा अभिभावक आप्mनो दायित्वबाट सकेसम्म छिटो मुक्त हुन खोज्दा वा सन्तानको योग्य जोडी मिलेको आधारमा बालविवाह हुने गर्दछ । बालविवाहका गर्नबाट अभिभावकलाई रोक्ने समाज अझै भइसकेको छैन । वा समाजमा बाल विवाह रोक्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको छैन । यसकारण कहिलेकाहीं छोरा वा छोरीको उमेर भइसकेको थिएन तर विवाह हुँदैछ भन्ने कुरा कसैले पेटबोलीमा गरे पनि वास्तवमा यसलाई व्यवहारमा उतार्न प्रायः अभिभावक तयार हुँदैनन् । गाउँ समाजमा यस्ता एनजिओमा कार्यरत सामाजिक कार्यकर्ताहरूकै टोल, छिमेक, नातागोता, परिवारमा पनि बालविवाह भइरहँदा रोक्नका लागि सकारात्मक पहल भएको पाइँदैन । यसकारण बालविवाहको उमेर सैद्धान्तिक कुरो हो र व्यवहारमा यस्ता कुराहरू भइरहेका छन् भन्ने मनोविज्ञान अभिभावकमा रहेको छ ।
बालविवाहमा एक परिवार वा समाज मात्र संलग्न नभएर दुई समाजको पूर्ण संलग्नता हुन्छ यदि एउटै गाउँमा विवाह भएन भने । सामान्यतया अभिभावकको सहमतिमा हुने विवाहमा दुई गाउँको समाज संलग्न रहन्छ । विवाहको कुरो मिलाउने बेलादेखि जन्तीभोज खानेसम्म दुई समाजको सोझो र पूर्ण संलग्नता हुन्छ । यसैगरी दुलहा तथा दुलही पक्षका आफन्त र नातागोता जति सबै विवाहमा निम्त्याइएका हुन्छन् । यो त संस्कृति हो । जुनसुकै उमेरमा पनि अभिभावकको सहमति र चाँजोपाँजो मिलाएर भएको विवाहमा सबै आफन्त तथा नातागोता आउने नै हुन्छन् । अहिलेसम्म यो चलन छँदैछ कि विवाहको बेला गाउँलेलाई भोज खुवाइन्छ, चाहे दुलहातर्फको होस् चाहे दुलहीतर्फबाट । दुलहा र दुलहीको घरमा विवाहोत्सवको भोजमा सबै खुशीखुशी सहभागी हुन्छन् । र, सबैलाई थाहा हुन्छ कि दुलहा को हो र दुलही को हो ? यसरी उमेर पनि थाहा हुन्छ । उमेर थाहा हुनेले बालविवाह हो कि होइन, यो कानूनसम्मत छ कि छैन भन्ने कुरा पनि राम्ररी बुझेका हुन्छन् तर कसैले वास्ता गर्दैन । अझ कतिपय दुलहा वा दुलहीले विवाहको उमेर नपुगेकोले गर्नुहुँदैन भनेर प्रत्यक्ष वा परोक्ष रोकेका हुन्छन्, साथीसङ्गीलाई भनेर रोक्न लगाएका हुन्छन् पनि तर अभिभावक र अभिभावकले भनेको नटेर्ने वा समाजमा नाक कटाउने सन्तानको रूपमा परिचित हुन नपरोस् भनेर विद्रोह गर्न सकेका हुँदैनन् ।
वर्तमान अवस्थामा बालविवाह एउटा चुनौतीको रूपमा रहेको छ । बालविवाह भएका निकै कम युवक होलान्, जसले आप्mनो कैरियर बनाउन पाउँछन् । विवाहपछि जब सन्तानको जन्म हुन्छ र कथंकदाचित घरमा कलह शुरू हुन्छ, त्यस बेला पत्नी र बालबच्चा च्यापेर शिक्षार्जन गर्न सक्दैन । यदि कतै कसैले ग¥यो भने यो दुर्लभ नै हुन्छ । साँच्चीकै जब समाज चाहन्छ कि बालबालिका अनुशासित हुनुपर्छ, अभिभावकले भनेको मान्नुपर्छ भने बालविवाह रोक्ने कोशिश गर्दा त्यही समाजले नराम्रो भनेर मान्न बेर लाग्दैन । जबकि बालविवाहमा परेका किशोरकिशोरीको शरीर, मनोविज्ञान, चेतना, आर्थिक उपार्जन र अन्य दृष्टिकोणले तयारी पुगेको हुँदैन । र, विवाहपछि धेरै किसिमको वृद्धि र विकास रोकिन्छ । असमयमैं बोझ र दायित्व थपिन्छ । शरीर र स्वास्थ्यमा असर पुगेको हुन्छ । जस्तो भविष्य हुनुपर्ने हो, त्यस्तो हुन नसक्ने पनि हुन्छ । र, यसको नकारात्मक प्रभाव यो पनि हुन सक्छ कि कुनै एक किशोर वा किशोरीको विवाह हुँदा किशोर वा किशोरीका अत्यन्त निकटका साथीको मनमा पनि विवाहको लागि उत्सुकता बढ्न सक्छ तथा किशोर वा किशोरीका अत्यन्त निकटका अभिभावकको मनमा पनि आप्mनो सन्तानको शीघ्र विवाहको लागि मनमा उत्सुकता बढ्न सक्छ । यसरी समाज, परिवार र व्यक्तिमा क्रमशः बालविवाहको नकारात्मक असर परिरहेको हुन्छ भन्ने कुरा समाजले अझै बुझ्न सकेको छैन । बरु यसलाई कतिपय अवस्थामा सकारात्मकरूपमा लिइएको पनि पाइएको छ । अभिभावकको सम्मानको रूपमा पनि लिएको पाइन्छ । यो डरलाग्दो अवस्था हो । यसले बाल विवाहको लागि निरन्तर वातावरण निर्माण गरिरहेको छ, बालविवाहको शृङ्खला निर्माण भइरहेको छ ।
बालविवाह रोक्ने प्रयास भइरहेकै हो । धेरैतिरबाट प्रयास भएको छ । आजमात्र होइन, धेरै पहिलेदेखि प्रयास भइरहेको छ । प्रयासकै परिणाम हो कि पहिलेको तुलनामा बालविवाह निकै कम गरेको छ । आजभन्दा दुई–तीन दशक पहिले बालविवाहको जुन स्थिति थियो, त्यो आज छैन । यद्यपि पछिल्लो दशकमा जसरी बालविवाह रोक्ने वा हटाउने प्रयासहरू भएका छन्, त्यसले चेतनाको क्षेत्रमा निकै सकारात्मक नतीजा ल्याएको छ । बालविवाह अपराध होेसम्म भन्न थालिएको छ । बालविवाहलाई विकृति, अन्धविश्वास तथा सामाजिक समस्याको रूपमा किशोरकिशोरीहरूले अभिव्यक्त गर्न थालेका छन् । अब यसलाई रोक्ने हो भने खासै कतैबाट बाधा आउँदैन । दृढ इच्छाशक्ति चाहिन्छ, स्थानीय सरकारको । स्थानीय सरकारको एउटा अङ्ग वडा कार्यालय, वडा प्रतिनिधि, वडाध्यक्षले चाहने हो भने बालविवाहलाई पूर्णतया रोक्न सकिन्छ । अहिलेको संरचना, सामाजिक अवस्था तथा सम्मान, सबै दृष्टिले वडाध्यक्ष र वडा सदस्यको समाजमा जुन हैसियत छ, त्यस हैसियतलाई यदि बाल विवाह रोक्नको लागि जिम्मेवार रूपमा लागू गराउने हो भने बालविवाह रोक्न सकिन्छ । किनभने बालविवाह मुख्यगरी ग्रामीण क्षेत्रमा अत्यधिक हुन्छ । बालविवाहमा दुई समाजको संलग्नता रहेको हुन्छ । हरेक विवाहमा स्थानीय जनप्रतिनिधिलाई अनिवार्य बोलाइएको हुन्छ । जहाँ जनप्रतिनिधलाई बोलाइँदैन, त्यहाँको कुरो जनप्रतिनिधिलाई अझ बढी थाहा हुन्छ, रिस वा डाहाको कारण । ईष्र्या वा विरोधी भावले पनि नकारात्मक कुरा सबै थाहा हुन्छ । दुवै अवस्थामा जनप्रतिनिधिले थाहा पाएकै हुन्छन् । बालविवाह भएमा त्यसको जिम्मेवार जनप्रतिनिधि हुन्छ भन्ने किसिमले जिम्मेवार बनाउन खोजियो भने बाल विवाह रोक्न जनप्रतिनिधि अग्रसर हुन्छन् । स्वाभाविक हो, बालविवाह रोकिन्छ । कुनै एक पक्षतिर अर्थात् दुलहा वा दुलही पक्षतिरका जनप्रतिनिधि सक्रिय हुँदा पनि बालविवाह रोकिन्छ ।
वर्तमान अवस्थामा बालविवाह रोक्ने चुनौतीको सामना गर्न समाज तयार छ । बालविवाह नहुँदा समाजमा विकृति आउँछ भन्ने सोच पनि रहेको छ । यसको लागि पनि विचार गर्न सकिन्छ । विकृति र विसङ्गति कम गर्ने उपायको खोजी पनि समाज र कानूनले गर्न सक्छ भन्ने विश्वास दिलाउनु उचित हुन्छ । बालविवाह रोक्ने हो भने समाजको अन्य पक्षमा पनि यसको सकारात्मक प्रभाव पर्ने निश्चित छ ।