प्रस, वीरगंज, २ माघ/
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाविरुद्ध मङ्गलवार पनि बचतकर्ताहरूले प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
आज सो संस्थामा बचत गरेका साना व्यापारीहरूले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीको कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामार्फत प्रहरी प्रधान कार्यालयमा बचत रकम फिर्ता गराउन पहल गरिदिन भनी ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरूले खुद्रा व्यापारीको बचत रकम फिर्ता गर, मैनेजरलाई पक्राउ गर, संस्थापक मैनेजरलगायत कसूरवारलाई पक्राउ गर भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयअगाडि प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
वीरगंज महानगर–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थालाई महानगरले समस्याग्रस्त घोषणा गरेको थियो भने गत शुक्रवार कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसपछि बचतकर्ताहरूले संस्थाविरुद्ध लगातार प्रदर्शन गर्दै आफ्नो बचत फिर्ता गराउन र कसूरवारहरूलाई कानूनी सजाय दिन दबाब दिंदै आइरहेका छन् ।
पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीका संस्थापक जिबी राई, वर्तमान अध्यक्ष अनन्तबाबू राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबू राई, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय, पर्सामा यो संस्थाविरुद्ध ५२ जनाले उजूरी दिएको जिप्रका, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । सो सहकारीविरुद्ध महानगरमा भने ११५ भन्दा बढी सेवाग्राहीले लिखित उजूरी दिएका छन् । यो संस्थाले आठ सयभन्दा बढी साना तथा ठूला बचतकर्ताहरूको एक अर्बभन्दा बढी रकम फिर्ता नगरेको आरोप छ ।