एनआई कप टी–२० : हेटौंडा र नेशनल इन्फोटेक विजयी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २ माघ/
नारायणी क्रिकेट मैदानमा जारी नेशनल एकेडेमी (एनआई) कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको पहिलो खेलमा हेटौंडा स्कूल अफ कलेजले वीरगंज कलेजलाई ७२ रनअन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै हेटौंडा स्कूल अफ कलेजले २० ओभरमा तीन विकेट गुमाएर १६३ रन बनाएको थियो । हेटौंडाका ज्ञानेन्द्र कुशवाहाले ५२ बलमा ६२ रन बनाए । साहेब यादवले २२ बलमा ४३ रन बनाए भने गौरव श्रेष्ठले ३३ बलमा २० रन बनाएका थिए ।

वीरगंज कलेजका मुकेश साहले एक विकेट लिए । १६४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको वीरगंज कलेज १८.५ ओभरमा सबै विकेट गुमाएर ९१ रनकम समेटियो । वीरगंज कलेजका अर्जुन साहले १३ र आकाश यादवले १२ रन बनाएका थिए ।

हेटौंडा स्कूलका प्राञ्जल उपाध्याय एक्लैले पाँच विकेट लिए भने विकेश दास र राजा अहमदले दुई/दुई विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ हेटौंडाका ज्ञानेन्द्र कुशवाहा घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा नेशनल इन्फोटेक कलेज विजयी भएको छ । नेशनल इन्फोटेकले ज्ञानदालाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । टस जितेर ब्याटिङ रोजेको नेशनल इन्फोटेकले २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

नेशनलका राहुल महतोले ६५, सफवान अलिले ६४ र राहुल हकले १९ रन बनाएका थिए । ज्ञानदाका फैजल अजाम र परवेज आलमले एक/एक विकेट लिए ।

प्रतिउत्तरमा १७२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको ज्ञानदा १६.३ ओभरमा सबै विकेट गुमाएर ६४ रनमा समेटियो । ज्ञानदाका धीरज पटेलले १२ र सुमितकुमार पटेलले ११ रन बनाए । नेशनल इन्फोटेकका सलमान मन्सुरीले तीन, आसबाबू र अरबाज हुसेनले दुई/दुई विकेट लिए ।
यस खेलको ‘म्यान अफ दी म्याच’ नेशनल इन्फोटेकका सफवान अलि घोषित भए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।