अस्पतालमै हराउँछ विरामीको फाइल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

चितवन, २ माघ/रासस
भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउने बिरामीको नाम दर्ता गरेसँगै कर्मचारीको पहिलो काम हुन्छ, बिरामीको फाइल तयार गर्ने । नाम दर्ता गरेपछि फाइल खोजेर बिरामीलाई परिचयपत्र दिइन्छ । बिरामीका हरेक परीक्षण त्यो फाइलमा थपिंदै जान्छन् । फाइलमा भएको इतिहास (हिस्ट्री) हेरेर चिकित्सकले पटकैपिच्छे थप उपचारका लागि प्रक्रिया अघि बढाउँछन् ।

यो फाइल बिरामीले लैजान पाउँदैन, अस्पतालमैं रहन्छ । अर्काेपटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छ भन्दा अचम्म लाग्छ । यहाँ आउने बिरामीका लागि सबैभन्दा ठूलो समस्या नै फाइल हराउने हो । क्यान्सरका बिरामीका लागि एकपटक आएर उपचार सम्भव छैन । पटकपटक अस्पताल आउने ती बिरामीको फाइल हराएपछि उपचारमैं समस्या हुँदै आएको छ । आउने बिरामीलाई विभिन्न बहानामा दुःख दिएर निजी अस्पताल पठाउने खेल पनि योसँगै जोडिने गरेको पीडितको गुनासो थियो ।

उपचारका लागि सासू लिएर आएकी सर्लाहीकी मञ्जु पौडेल अघिल्लोपटक उपचारका पछि छोडिएको फाइल खोज्दै अस्पतालमा भौंतारिंदै थिइन् । उनले गुनासो गरे, “एक महीनाअघि उपचार गरेर फाइल यही छोडेर गइयो तर अहिले भेटिएकै छैन । रेकर्ड शाखामा गयो चिकित्सकको कार्यकक्षमा पुगेको छ भन्छन्, तर यहाँ आयो उतै होला भन्छन् ।”

७३ वर्षीया सासू राधिकाकुमारी सापकोटाको उपचारका लागि अस्पताल आइरहनुपर्ने र यहाँ फाइल नभेटिने समस्या सधैं हुने गरेको उल्लेख गर्दै मञ्जुले भनिन्, “बिहान ५ बजे टोकन लिएपछि ७ बजे टिकट काटेर बिरामी लिएर आउँदा फाइल नै हराउँछ । कस्तो गैरजिम्मेवारपन हो यो ।” अस्पतालले बिरामीको रेकर्ड फाइल अस्पतालमैं सुरक्षित छोड्न भन्दै आए पनि अब फाइल नभेटिए केका आधारमा उपचार शुरू गर्ने ? यस्तो लापरवाहीले त जनताले सास्ती पाउने उनले बताइन् । मञ्जु मात्रै होइन कपिलवस्तुबाट उपचारका लागि आएकी ५८ वर्षीया सानीमाया कुँवर आफ्नो फाइल हराएपछि फोटोकपी गरेर राखेको कागजले उपचार गराइरहेको बताइन् । उनले भनिन्, “यसअघि आउँदा मेरो फाइल हराएकोले मैले फोटोकपी गरेर राखेको थिएँ, त्यसैका आधारमा उपचार गराइरहेकी छु ।”

लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी उनले फाइल हराउने र समयमा उपचार नपाउने यस अस्पतालको विशेषता नै भएको बताइन् । सानीमायाले भनिन्, “उपचारको लागि टाढाबाट आउनुपर्छ । यहाँ आउँदा कहिले के भन्छन् कहिले के । हामीले निकै सास्ती पाउने गरेका छौं ।”

अस्पतालका कर्मचारीहरूको रूखो बोलीका कारण झनै समस्या बन्ने गरेको, उपचार राम्रो भएपनि केमो दिनुपर्ने बिरामीले पालो कुर्नुपर्ने, केमो अस्पतालमा नपाएर बाहिरबाट किन्नुपर्नेजस्ता समस्या हुनाका साथै सक्कल रिपोर्ट कार्ड हराउँदा उपचारमा समस्या हुने गरेको उनको गुनासो थियो ।

तनहुँबाट उपचारका लागि अस्पताल आएकी जमुना न्यौपाने अस्पतालका कर्मचारीको व्यवहारका कारण बिरामीले दुःख पाउने गरेको बताइन् । उपचारका लागि आएको पाँचदेखि सात दिनसम्म रोकिनुपर्ने उनको भनाइ थियो । पाँच वर्षदेखि जिब्रोको क्यान्सरको उपचार गराउँदै आएकी जमुना अस्पतालमा छोडिएको फाइल हराउनु, समयमा उपचार नपाउनुजस्ता समस्याले सास्ती बेहोर्नुपरेको गुनासो गरिन् ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बिरामीको फाइल हराउने गुनासो आएको स्वीकारे । विभागका चिकित्सकहरूकहाँ गएका कतिपय फाइल कर्मचारीले रेकर्ड शाखामा नबुझाउँदा समस्या हुने गरेको भन्दै उनले पूरै हराउने भन्ने नहुने जिकिर गरे । उपनिर्देशक नेपालले आन्तरिक फाइल राख्ने प्रणालीलाई चुस्त बनाउनुपर्ने अवस्था देखिएकाले अब सुधार्ने बताए ।

अस्पतालमा नेपालभरका साथै भारत र बङ्गलादेशबाट समेत क्यान्सरका बिरामी उपचारका लागि आउने गर्छन् । एशियाको नमूना अस्पतालका रूपमा बनाइएको यस अस्पतालमा पछिल्ला वर्षहरूमा प्रशासनिक प्रणालीमा कमजोरी हुँदै जाँदा बिरामीले समयमा उपचार नपाउने, निजी अस्पताल र क्लिनिकमा जान बाध्य हुनेजस्ता समस्या भोग्नुपरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।