ओमप्रकाश चौधरी, सेढवा, १ माघ/
वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, पटेर्वासुगौली, जीराभवानी र सखुवाप्रसौनी गापा गरी पर्सा जिल्लाका पाँचवटा पालिकामा सोमवार माघी/ खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम धूमधामका साथ मनाइएको छ ।
वीरगंजको घण्टाघरबाट निकालिएको -याली पुरानो बसपार्क आदर्शनगरमा पुगेर कार्यक्रम गरी समापन भएको थियो । माघी मूल समारोह समितिको आयोजनामा कार्यक्रम भएको थियो । यसैगरी, जीराभवानी गापाको सहयोगमा युवा समाज पकडीटोलले जीराभवानी गापा–१ वडा कार्यालय परिसरमा माघी महोत्सव आयोजना गरेको थियो । वडाध्यक्ष रामशरण खवासको सभापतित्व तथा गापा अध्यक्ष अनोज चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा थारूको परम्परागत पहिरन, पौराणिककालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्रीहरूको प्रदर्शन गरिएको थियो । कार्यक्रममा थारू संस्कृति अन्तर्गत लोप हँुदै गएका झमटा, घाटोलगायतका गीत पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा ठोरी गापाध्यक्ष लालबहादुर श्रेष्ठ, जीराभवानी गापा उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष महादेव महतो, सामाजिक कार्यकर्ता प्रकाश थारू, बिकाउ भण्डारीलगायतले शुभकामना मन्तव्य गरेका थिए ।
कार्यक्रममा १० जना विद्यार्थीको समूहले नृत्य प्रतियोगिता गरेका थिए । जसमा लाटोमाई समूह प्रथम, पकडीटोल दोस्रो, जियर समूह वीरगंज तेस्रो र वनशक्ति प्रावि काठमाडौंटोल सान्त्वना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका समूहलाई क्रमशः २०, १०, पाँच र एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष बालेश्वर दिस्वाले बताए ।
यसैगरी, पटेर्वासुगौली गापामा तेस्रो माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गापाध्यक्ष दिनेशकुमार चौधरीको सभापतित्व तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा थारू जातिले प्रयोग गर्दै आएका हलो, माछा मार्ने
जालो, खोकी, डेली, बेवा तथा डोकनी (काठको भाँडो) प्रदर्शनीमा राखिएका थिए ।
कार्यक्रममा पूर्वराज्यमन्त्री नागेन्द्र चौधरी, नेकपा माओवादी केन्द्रका बालेश्वर चौधरी, गापा उपाध्यक्ष ममता महतो, परमेश्वर महतो, मुकेश गौरोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय गायक तथा कलाकार नेपाली निरहुवाले गीत र चितवन माडीका अग्रिम महिला समूहका सदस्यहरूले नृत्य प्रस्तुत गरेका थिए ।
महोत्सवमा हास, परेवा, कुखुराका मासु, घोङी, अनदी, सानो माछालगायत परिकारका स्टल राखिएका थिए ।
रक्तदान कार्यक्रम
माघी महोत्सवको अवसरमा पटेर्वासुगौली गापामा सोमवार रक्तदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा पाँचजना महिलासहित ८५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष साहले बताए ।
नरेश यादव, पर्सागढी/
पर्सागढी नगरपालिका तथा थारू शिक्षक पर्सागढीको सहयोगमा थारू कल्याणकारिणीसभा नगर मूल समारोह समितिले पर्सागढी नपामा सोमवार चौथो पर्सागढी माघी (खिचडी) पर्व विविध कार्यक्रम गरी मनाएको छ । थारू कल्याणकारिणी, पर्सागढीका सभापति जङ्गबहादुर दास थारूको अध्यक्षता भएको कार्यक्रमको थारू समुदायका ज्येष्ठ नागरिक भगनदास थारूले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेलले थारू समुदायका कला–संस्कृति माघी महोत्सवको माध्यमबाट झल्काउने काम भएको बताए । नगरप्रमुख गोकर्ण पाठकले कला–संस्कृतिका बारेमा आफ्ना सन्ततिलाई जानकारी गराउने माध्यमको रूपमा माघी पर्व रहेको बताए ।
सो अवसरमा छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययन गरिरहेका थारू समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा थारू समुदायका परिकारहरू राखिएका थिए भने प्रियङ्का चौधरीले नृत्यबाट सबैलाई मनोरञ्जन गराएकी थिइन् ।
कार्यक्रम उपप्रमुख पूजा चौधरी, पूर्वउपप्रमुख अर्चना चौधरी, वडाध्यक्ष राजकपूर खवास, रामबढाइ यादव, वीरेन्द्र चौधरी, शेख खुर्सेद, पूर्ववडाध्यक्ष वेदमनदास थारू, रामनारायणप्रसाद गौरो, प्रधानाध्यापक रामबहादुर चौधरी, चेतमन दास, बिन्दा चौधरीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक योगेन्द्र चौधरी र अमित चौधरीले गरेका थिए ।