देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

चितवन, १ माघ/रासस
पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतवार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम शुरू भएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । कतिपय भक्तजन स्नान गरेर फर्किएका थिए । सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको थियो ।

देवघाट क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको थियो । शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिधा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

माघे सङ्क्रान्ति मेलाको अवसरमा आइतवार र आज नारायणगढ–मुग्लिन सडकखण्डसमेत निर्बाधरूपमा सञ्चालनमा ल्याइएको थियो । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसो सवारीसाधन रोकी काम गरिंदै आएको थियो । देवघाटमा भारतलगायत तेस्रो मुलुकबाट समेत भक्तजन स्नानका लागि आउने गर्छन् ।

विगतका वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको थियो । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको थियो । अधिकांश भक्तजन नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।