ओमप्रकाश चौधरी, सेढवा, २८ पुस/
राज्यले खेप्दै आएका आर्थिक मन्दीका कारण पर्साको ग्रामीण भेगमा मासु व्यापार प्रभावित भएको छ । जीराभवानी, ठोरी, पटेर्वासुगौली, जगरनाथपुर, सखुवाप्रसौनी, धोबिनी, छिपहरमाई, पकाहामैनपुर गाउँपालिका, पोखरिया, पर्सागढी नगरपालिकालगायत क्षेत्रमा मासुको खपतमा कमी आएको छ ।
यसले मासुको मूल्यमा गिरावट आएको छ । रु ३६० देखि ३८० प्रतिकिलो कुखुराको मासु विगत तीन महीनादेखि २४० देखि २८० प्रतिकिलोमा स्थिर भएको छ । त्यस्तै खसीको मासुको भाउमा पनि प्रतिकिलो सय रुपियाँले घटेको छ । गाउँघरमा खसीको भाग लगाउँदा प्रतिकिलो नौसय रुपियाँबाट झरेर रु आठसय भएको छ । त्यस्तै बजारमा मासुपसलमा बिक्री हुँदै आएको मासु रु १००० प्रति केजीबाट झरेर रु नौसय प्रतिकिलो भएको छ ।
आम नागरिकसँग पैसा नभएकोले मासुको बिक्रीमा कमी आएको जीराभवानी गाउँपालिका–३ निवासी दीपेन्द्र चौधरी बताउँछन् । किसानहरू खसी–बोकाको भाउ कम गरेर भएपनि गर्जाे टार्न बाध्य रहेका चौधरीले बताए । डेढ–दुर्ई वर्षसम्म पालेर पनि खसीबोकाको उचित मूल्य नपाउँदा किसानहरू पीडित भएको चौधरीको भनाइ छ ।
व्यावसायिकरूपमा खसी पाल्दै आएका पर्सागढी नगरपालिका–२, बागवानाका हरिन्द्र चौधरीले देशमा चलिरहेको आर्थिक मन्दीका कारण व्यवसाय सङ्कटमा परेको बताए । जिउँदो खसी प्रतिकिलो रु ६०० बाट ५५० रुपियाँ प्रतिकेजीमा बिक्री गर्नुपरेको चौधरीले बताए । त्यसमा पनि खरीद गर्ने व्यापारी पाउन कठिन भइरहेको उनले बताए । चौधरीको बाख्राको खोरमा अझै ४०–५० वटा खसी छ ।
यता जीराभवानी गापा–१ मा रहेको ओम पोल्ट्रीफार्मका सञ्चालक जीतेन्द्र यादवले कुखुराको दाना, चल्ला र औषधिको मूल्य बढ्दै गएको तर उत्पादित कुखुराको मूल्य घटेको बताए । किसानले उत्पादन गर्ने कुखुरामा प्रतिकिलो रु दुई सय लगानी हुने तर ज्यूँदो कुखुरा प्रतिकिलो सोही दरमा बताए । उनले बढीमा बिक्री गर्न सकेकोे खण्डमा मुनाफा हुने तर त्यस्तो नभएकोले घाटा सहनुपरेको बताए । अहिले लागतभन्दा रु २० मा कुखुरा बिक्री गर्दा घाटा भएको उनको भनाइ छ ।