प्रस, वीरगंज, २८ पुस/
वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनीस्थित गोल्डेन ग्लोबल इङ्गलिस बोर्डिङ स्कूलका १२ वर्षीय बालक प्रीतम साहलाई प्रअ सफी यादवले कुटपिट गरेको घटना मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ ।
पुस २४ गते दिउँसो प्रअ यादवले शुल्क नतिरेको कसूरमा बालक साहलाई प्लास्टिकको छडीले निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालक साहको बायाँ आँखामा गम्भीर चोट लागेको र शरीरमा नीलडाम छ । उनी अहिले नारायणी अस्पतालमा उपचारपछि घरमा छन् । बालकका अभिभावक बहुदरमाई गाउँपालिका–६ गम्हरिया निवासी मुकेश साहले जिल्ला प्रहरी कार्यालय, पर्सामा प्रअविरुद्ध उजूरी दिएको र सो उजूरीलाई इलाका प्रहरी कार्यालय, पोखरियामा पठाइएको बताए ।
इप्रका, पोखरियाले पुस २९ गते आइतवार छलफलको लागि बोलाएको छ । अभिभावक साहले घटनामा मिलापत्र गर्न राजनीतिक दबाव परेको बताएका छन् । उनले प्रहरीले उजूरी दर्ता नगरे कानूनी प्रक्रियामा जाने बताए । प्रअ यादव बहुदरमाई नपामा रहेको राधाकृष्ण चौरसिया माविको स्थायी शिक्षक पनि हुन् ।