प्रस, वीरगंज, २४ मङ्सिर/
भारतको बनारस हिन्दू विश्वविद्यालय (बिएचयू)मा भर्ना गराउने नाममा ठगीधन्दा भइरहेको छ । ‘हिङ लगे ना फिटकीरी, रङ्ग भी चोखा होय’ लोकोक्तिझैं २० रुपैयाँको इन्टरनेट, २० रुपैयाँको विद्युत् र आधा घण्टा समय खर्चेर अनलाइन फाराम भर्न मिल्ने कार्यको लागि लाखौं ठगी गर्ने शैक्षिक माफियाहरू देशभरि विभिन्न स्थानमा सक्रिय छन् । ठगहरूले अति झन्झटिलो प्रक्रिया र सोर्सविना बिएचयूमा भर्ना हुन नसक्ने भन्दै निरीह विद्यार्थी, अभिभावकहरूमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरी ठगीधन्दा चलाइरहेको पाइएको छ ।
एक मजदूरले सात सय रूपैयाँ प्राप्त गर्नको लागि आठ घण्टा श्रम गर्नुपर्छ । तर यी ठगहरूले अनजान अभिभावक, विद्यार्थीहरूलाई अवैध आम्दानीको उपक्रमको रूपमा प्रयोग गरिरहेका छन् । अवैध तरीकाले दुईदेखि तीन लाख रुपैयाँ असुल गरिरहेको पाइएको छ । वीरगंज महानगरपालिका वडा नं ११ आश्रम रोडस्थित आर्यन एजुकेशन कन्सल्टेन्सीका सञ्चालकत्रय उमेश पण्डित, आर्यन पण्डित र महम्मद अलीले परामर्शको नाममा विद्यार्थीहरूसँग ठगी गरिरहेकोे अभिभावकहरूको आरोप छ ।
वीरगंजका एक अभिभावकका अनुसार उमेश पण्डितले उनीसँग भारु एक लाख र फर्म बुझाउने शुल्क तीन हजार गरी भारु एक लाख तीन हजार ठगेको दुःखेसो पोखे ।
त्यसैगरी, पर्साको पोखरिया नपाका एक अभिभावकले भने, “आर्यन कन्सल्टेन्सीको फेसबूक पेजमार्फत उक्त संस्थाले बिएचयूमा भर्नासम्बन्धी कार्य गरिरहेको अवगत भयो । आफ्नो छोराको नामाङ्कनको सिलसिलामा उक्त कन्सल्टेन्सीको वीरगंज–११ स्थित कार्यालयमा बुझ्न गएको थिएँ । संस्थाका सञ्चालक उमेश पण्डितले बिएचयूमा नामाङ्कनबापत प्रतिविद्यार्थी रु दुई लाख पर्ने बताए ।
उनले भने, “संयोगवश बिएचयूका एकजना पूर्वविद्यार्थीका अभिभावकसँग भेट भयो । भर्नाको प्रक्रियाबारे उनीसँग जानकारी प्राप्त भएपछि म उमेश पण्डितसँग ठगिनबाट जोगिएँ ।” उनले भारु तीन हजार फाराम बुझाउने शुल्क र बनारस आउने–जाने तीनजनाको पाँच हजार गरी झन्डै भारु आठ हजार खर्च भएको बताए । आठ हजार भारुमा हुने कार्यको लागि उमेश पण्डितले भारु अढाई लाख माग गरेको बताए ।
त्यसैगरी, अर्का एकजना अभिभावकले आर्यन कन्सल्टेन्सीको नामले सञ्चालित शैक्षिक परामर्श केन्द्रका सञ्चालक उमेश पण्डितलगायतको समूहले आधा घण्टामा हुने कार्यको लागि आफूसँग तीन लाख रुपैयाँ ठगी गरेको प्रमाण देखाउँदै भने, “शैक्षिक परामर्श केन्द्रको नाममा ठगी भइरहेको छ ।”
त्यसैगरी, सामान्य कार्यको यतिधेरै रकम किन लिएको भन्दै उमेश पण्डितसँग गुनासो गर्न जाँदा विद्यार्थीको नामाङ्कन नै रद्द गराइदिने धम्की दिने गरेको कतिपय अभिभावकरूको आरोप छ ।
अभिभावकहरूका गुनासा, उमेश पण्डितसँग भएका फोन तथा ह्वाट्सएप संवाद र पण्डितको निजी बैंक खातामा रकम ट्रान्सफर गराएका अभिभावकहरूबाट प्राप्त प्रमाणहरूले पण्डितको छलछाम प्रस्ट हुन्छ । फोनमा रेकर्ड हुने डरले सकेसम्म पण्डित लेनदेनका कुरा गर्न चाहँदैनन् ।
आर्यन कन्सल्टेन्सीको ब्यानर लिएर पसर्F र बाराका केही निजी विद्यालयहरूका सञ्चालकहरूको साँठगाँठमा पण्डितले बिएचयूमा भर्ना गराउनेबारे कार्यक्रम सञ्चालन गर्ने गर्छन् ।
अहिले आर्यन कन्सल्टेन्सीले आगामी सन् २०२४/२५ को लागि भर्नाको नाममा फेसबूक पेजमा पटकपटक पोस्ट र साझा गर्ने कार्य तीव्र पारेपछि सेवाग्राहीहरू सम्पर्कमा आउने क्रम बढेको छ । भर्नाबारे सम्पर्कमा आइरहेका सेवाग्राहीहरूसँग समय बढी लाग्ने भन्दै खर्च आदिबारे कुराकानीको लागि फोनमा भन्न नमिल्ने र कार्यालयमा आउन भन्ने गरेको बुझिन्छ । उनले पेश्की रकमसहित विद्यार्थीहरूको सक्कल शैक्षिक प्रमाणपत्र आफ्नो नियन्त्रणमा लिने गरेका छन् ।
अनुसन्धानको क्रममा फेसबूकमा प्रवेश गरेपछि आर्यन कन्सल्टेन्सी, वीरगंजले aryaneducationalconsultancy र aryaneducationhub गरी दुईवटा फेसबूक पेज खडा गरेको पाइयो । यी दुईवटा पेजमध्ये aryaneducationalconsultancy मा बिएचयूमा भर्नासम्बन्धी लोभलाग्दो ब्यानरमा सम्पर्क ठेगाना र मोबाइल नम्बर आदि उल्लेख गरी प्रचारप्रसार गरिरहेकोे पाइयो । सेवा शुल्क के कति लाग्ने भन्नेबारे जानकारी समाविष्ट छैन ।
त्यसैगरी, सामाजिक मनोविज्ञानमा गहिरो प्रभाव पार्नका लागि आर्यन कन्सल्टेन्सीले ठेगानामा ‘भारतीय दूतावासपछाडि’ भन्ने शब्दको प्रयोग गरेको, भर्ना हुने प्रत्येक विद्यार्थीहरूलाई बिएचयूले स्वाभाविकरूपमा प्रदान गर्दै आइरहेको भारु छ हजार छात्रवृत्ति रकमलाई ब्यानरमा ‘Under Scholorship’ उल्लेख गरेको, सञ्चारमाध्यहरूको फेसबूक पेजका साथै उच्च फलोअर्स रहेका विभिन्न फेसबूक पेजहरूमा बारम्बार साझा गरेको देखिन्छ । यी प्रत्यनहरूले सञ्चालकहरूको मनोविज्ञान बुझ्न कठिन छैन ।
उक्त पोस्टमा विभिन्न स्थानबाट विद्यार्थीहरूले बिएचयूमा भर्नाको लागि कमेन्ट गरी चासो व्यक्त गरेका देखिन्छन् । कन्सल्टेन्सीको तर्फबाट मेसेन्जरमा जानकारी पठाइएको र प्रतिउत्तर फर्काइएकोे देखिन्छ ।
बिएचयूको भर्ना प्रक्रिया धेरै जटिल र झन्झटिलो बताउँदै विद्यार्थी तथा अभिभावकको मनोविज्ञानमाथि प्रहार गरी अभिभावक राजी भएपछि शुरूमा भारु दुईदेखि तीन लाख लाग्ने बताइन्छन् । यद्यपि सेवाग्राहीले जति बार्गेनिङ गरे पनि घटीमा भारु एक लाखभन्दा कम रकम कुनै पनि सेवाग्राहीसँग नलिएको सम्पर्कमा आएका विद्यार्थी, अभिभावकहरूको कथनबाट अवगत हुन्छ ।
रकमको कुरा मिलेपछि विद्यार्थीको सक्कल शैक्षिक प्रमाणपत्र लिनुका साथै सकेसम्म सकार गरेको रकम एकमुस्ट लिने वा नभए अग्रिम लिने गरिन्छ । उनले भर्ना कहिले खुल्ने बताउँदैनन् तर लामो समय लाग्ने भन्छन् । बिएचयूमा नयाँ भर्नाको लागि आह्वान भएपछि विद्यार्थीको इमेल ठेगाना सिर्जना गरी अनलाइन फर्म भरेर सबमिट गर्छन् । इमेल आफैंले सिर्जना गरेको, पासवर्ड आफैसँग भएको र अस्थायी प्रवेशपत्र आफ्नै हातमा आउने भएपछि बक्यौता रकम डुब्ने डरै भएन ।
बिएचयूका पूर्वविद्यार्थीहरूको भनाइ
बिएचयूका पूर्वविद्यार्थीहरूका अनुसार पहिले स्वयम् उपस्थित भई फाराम भर्ने, शुल्क जम्मा गर्ने र विद्यार्थीको नाम छनोट भएपछि फाराममा उल्लिखित वैधानिक ठेगानामा बिएचयूद्वारा अस्थायी नामाङ्कनपत्र हुलाकमार्फत प्रेषण गर्ने प्रावधान थियो । हुलाकबाट पत्र आउन ढिलो त हुन्थ्यो, तर अस्थायी प्रवेशपत्र विद्यार्थीकै हातमा पुग्थ्यो । यस कारण शैक्षिक माफियाहरू पहिले यतिविघ्न सक्रिय थिएनन् ।
अहिले अनलाइनमार्फत जो कसैले जो कसैको र जहाँसुकैबाट फाराम भर्न मिल्ने सुविधा छ । त्यसैगरी, बिएचयूको खातामा जहाँसुकैबाट जो कसैले पनि फाराम शुल्क जम्मा गर्न मिल्ने सुविधा छ । यो सुविधालाई माफियाहरूले अनजान सेवाग्राहीको मनोविज्ञानलाई पढी ठगी गर्ने उपक्रमको रूपमा प्रयोग गरिरहेका छन् । माफियाहरूले बिएचयूमा जानै पर्दैन ।
इन्टरनेशनल सेन्टर, बिएचयूको भनाइ
इन्टरनेशनल सेन्टर, बिएचयूका संयोजक प्रोफेसर एसभिएस राजुसँग फोन सम्पर्क गरियो । उनले कुनै पनि देशमा बिएचयूको शैक्षिक परामर्श केन्द्र नरहेको स्पष्ट पार्दै भने, “नेपालमा विद्यार्थीहरू ठगीमा परिरहेका छन् भन्ने हामीहरूलाई जानकारी प्राप्त भएको छ, जसले पनि ठगीधन्दा गरिरहेको छ, त्यो राम्रो होइन ।”
उनले बिएचयूमा दुई तरीकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रवेश पाउने व्यवस्था रहेको अवगत गराए । पहिलो, आइसिसिआरद्वारा छात्रवृत्ति प्राप्त गरी आउने र दोस्रो, निजी खर्चमा । निजी खर्चमा पढ्न चाहने विद्यार्थीहरूले भर्ना खुलेको बेलामा अफलाइन फाराम भर्ने भए सीधैं बिएचयूको अन्तर्राष्ट्रिय केन्द्रमा आउन सक्छन् भने विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखी जहाँसुकैबाट पनि अनलाइन फाराम भर्न मिल्ने व्यवस्थासमेत भएको बताए ।
उनले प्रत्येक वर्षको फेबु्रअरी/मार्च महीनामा विविध सङ्कायमा भर्ना प्रक्रिया खुल्ला हुने अवगत गराए । बिएचयूको वेबसाइटमार्फत जहाँसुकैबाट फाराम भर्न मिल्ने भएकोले इन्टरनेट चलाउन जान्ने जोकोहीले पनि सजिलै फाराम भर्न सक्छ । फाराम भरिसकेपछि बिएचयूले जारी गरेको बैंक खातामा फाराम शुल्क भारु तीन हजार जम्मा गर्नुपर्छ ।
उनले भने, “हामीले प्राप्त फारामहरू सम्बन्धित सङ्कायमा पठाउँछौं । सम्बन्धित सङ्कायले शैक्षिक योग्यता आदि मिले/नमिलेको जाँचबुझ गर्छ । त्यसपछि स्वीकृत/अस्वीकृत भएको जानकारीसहित नामावली इन्टरनेशनल सेन्टरमा आउँछ ।”
केही वर्षयतादेखि पहिलो आउनेलाई पहिलो प्राथमिकताको प्रावधान छ । सोही प्रावधान अनुसार हामीले छनोट भएका विद्यार्थीहरूको नामावली प्रकाशन र फाराममा उल्लिखित इमेल ठेगानाहरूमा अस्थायी प्रवेशपत्र प्रेषण गर्छौं । उक्त पत्रमा सक्कल शैक्षिक प्रमाणपत्रसहित विद्यार्थी उपस्थित हुनुपर्ने निर्धारित तिथिका साथै लाग्ने शुल्क आदि विवरणहरू उल्लेख गरिएका हुन्छन् । तोकिएको समयावधिभित्र उपस्थित भएका विद्यार्थीहरूको नामाङ्कनको प्रक्रिया प्रारम्भ हुन्छ ।
उमेश पण्डितको प्रतिक्रिया
अभिभावक, विद्यार्थीहरूको आरोपको सम्बन्धमा आर्यन एजुकेशन कन्सल्टेन्सी, वीरगंजका सञ्चालक उमेश पण्डितले प्रतीक दैनिकले अन्तर्राष्ट्रिय केन्द्र, बिएचयूबाट भर्नासम्बन्धी प्राप्त जानकारीलाई स्वीकार गर्दै आफूले सेवाप्रवाह गरेबापत शुल्क मात्र लिएको बताए । यद्यपि फाराम दर्ता तथा प्रबन्धपत्रमा उल्लिखित नियम अनुसार सेवा शुल्क लिए/नलिएको बारेमा उनको भुल्याउने मनस्थिति थियो । पण्डितले बिएचयूको शैक्षिक परामर्शदाता कहीं पनि नरहेको स्वीकार गरे । त्यसैगरी, पण्डितले नयाँ विद्यार्थी भर्नाको सङ्ख्याबारे आफूले बिएचयूबाटै सूचना प्राप्त गर्ने गरेको अवगत गराउँदै विनासाँठगाँठ कसरी भर्ना हुन्छ ? भन्ने प्रतिप्रश्न गरेका थिए ।