रिलायन्समा उखु खरीद शुरू, प्राथमिकतामा बाराका किसान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २४ मङ्सिर/
बारा जिल्लाको कलैया उपमहानगरपालिकास्थित रिलायन्स सुगर एन्ड केमिकल्स प्रालिले आइतवारदेखि यस वर्षको क्रसिड्ढो लागि उखु खरीद गर्न शुरू गरेको छ ।

सरकारले समर्थन मूल्य नतोके पनि पछि तोकिने समर्थन मूल्य अनुसार उखुको भुक्तानी गर्नेगरी आजबाट उखु खरीद प्रक्रिया शुरू भएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्वीन्टल रु ६१०/– समर्थन मूल्य तोकेको थियो । यो मूल्यमा सरकारले रु ७०/– अनुदान उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराउने भनेको रु ७०/– का दरले रिलायन्स सुगर मिलका किसानहरूलाई एक अर्ब ३२ करोड भुक्तानी दिनुपर्नेमा अहिलेसम्म सरकारले ८० करोड मात्र भुक्तानी गरेको छ भने ५२ करोड भुक्तानी गर्न बाँकी छ । मिलको तर्फबाट भने उखु किसानहरूलाई भुक्तानी भइसकेको मिल प्रशासनले जनाएको छ ।

उखु उत्पादक सङ्घ, पर्साका अध्यक्ष असर्फी साहले यस वर्ष गत वर्षको तुलनामा पर्सामा उखु उत्पादन घटेको बताए । उनले मिल टाढा भएको, पर्सेली किसानसँग विभेद र भुक्तानीमा ढिला गरिने जस्ता कारणले गत वर्षको तुलनामा यस वर्ष उखुखेती कम भएको बताए । पर्सामा गत वर्ष १६ सय हेक्टर क्षेत्रफलमा उखुखेती भएको तर यस वर्ष १५ सय हेक्टरमा मात्र खेती भएको अध्यक्ष साहले बताए । उनले बारामा भने गत वर्ष दुई हजार हेक्टरमा उखुखेती गरिएको बताए । मिलले आजदेखि उखु खरीद गर्न शुरू गरेकोमा मध्य माघदेखि मात्र पर्सेली किसानका उखु खरीद गर्ने जनाएको छ । आजदेखि मध्य माघसम्म मिलले बाराका किसानलाई प्राथमिकता दिने उनले बताए । 

मिलले दैनिक ३५ हजार क्वीन्टल उखु पेल्ने गर्छ । अहिलेसम्मको तथ्याङ्क अनुसार मिलबाट बाराका किसानहरूले सबैभन्दा बढी प्राथमिकता पाएका छन् ।

वीरगंज महानगरपालिका–२८ बगहीका किसान राजाराम राउत कुर्मीका अनुसार एक बिघा उखुखेतीबाट ६० हजार रुपैयाँ मुनाफा हुने गरेको छ । सबै खर्च कटाएर उनले तीन बिघामा लगाएको उखुबाट गत वर्ष करीब दुई लाख रुपैयाँ मुनाफा गरेको बताए ।

रिलायन्सले यस वर्ष भने मोबाइल एपबाट उखुको टोकन वितरण शुरू गरेको छ । कारखानामा सबै किसानका मोबाइल नम्बर राखिएको र सोबाट टोकन जारी भएको सूचना आएपछि सोही नम्बर लिएर किसानहरूले कारखानामा गएर उखु बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको बुझिन आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।