प्रस, वीरगंज, २४ मङ्सिर/
बारा, कलैयाको बाल एकता बोर्डिड्ढा सञ्चालक तथा प्रधानाध्यापक रूपेश सर्राफको हत्याकाण्ड झन्झन् जटिल बन्दै गइरहेको छ ।
रूपेशको हत्या भारतीय सुटरद्वारा कात्तिक १३ दिउँसो १ बजे कलैयामा भएको थियो । हत्यापछि देखिएको परिदृश्यले अहिलेसम्म रूपेश हत्याकाण्डको टुङ्गो लागेको छैन । घटनापछि सङ्कलन गरेको प्रमाणको आधारमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरी सबुत प्रमाणका लागि थुनामा राखेको छ । प्रहरीले उनीहरूविरुद्ध कर्तव्यज्यान तथा सङ्गठित अपराधको मुद्दामा अनुसन्धानअगाडि बढाएको छ भन्ने केहीलाई फरार सूचीमा राखी खोजी कार्य गरिरहेको छ । तर प्रहरीले गरेको अनुसन्धान तथा पक्राउ परेका व्यक्तिहरूप्रति मृतकको परिवार तथा केही विद्यालय सङ्गठन असन्तुष्ट छन् । उनीहरू अहिले पनि प्रहरीले गरेको अनुसन्धानप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेका छन् ।
प्रहरी स्रोतको अनुसार मृतकसँग प्रहरी सङ्गठनको कुनै सम्बन्ध छैन, घटना घटेपछि प्रहरीले आफनो कर्तव्य अनुसार अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतको अनुसार केही दिनअगाडि मात्र प्रयोग भएको गाडी तथा त्यसका धनी, गाडी राख्ने व्यक्ति, सुटरका भाइ पक्राउ परेका छन् । सुटरलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा गत एक सातादेखि भारतका विभिन्न ठाउँहरूमा प्रहरी परिचालन गरेको छ ।
अर्कोतिर घटनापश्चात् प्रहरीलाई अनुसन्धान प्रक्रियामा पीडित परिवारले सहयोग नगरेको आरोप छ । घटनाको लामो समयपछि प्रहरीको लिखितपत्रको आधारमा परिवारले जाहेरी तथा इडिट गरिएको सिसिटिभी फुटेज उपलब्ध गराएको छ । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाइरहेको अवस्थामा प्रहरीविरुद्ध आन्दोलन गर्नु न्यायोचित नभएको प्रहरी अधिकृतहरूको भनाइ छ ।
प्रहरी तथा पीडित परिवारबीच घटनाबारे मतान्तर हुँदा अहिले राजनीति शुरू भएको छ । विभिन्न दलका नेताहरूले फरकफरक ढङ्गले घटनालाई चित्रण गर्दै राजनीति शुरू गरिसकेका छन् । प्रहरीको अनुसन्धान नै फितलो भएको जस्तो देखाउन एक पक्ष लागिपरेको छ । झट्ट हेर्दा अहिले राजनीतिक दल, पत्रकार, जनप्रतिनिधि सबै दुई चिरामा बाँडिएका छन् ।
मृतक वा परिवारले विगतमा गरेका गलती वा कमजोरीलाई यो घटनासँग जोडेर हेर्न नमिल्ने यो मुद्दा हेर्ने कानून व्यवसायीहरूको तर्क छ ।
मृतक कलैयाको हुनेखाने र राजनीतिमा राम्रो दखल राख्ने व्यक्ति भएकाले पनि अहिले सो घटना राजनीतीकरण भएको हो । प्रहरीले हत्या भएको तीन घण्टाभित्रै विद्यालयका पूर्वकर्मचारी राधा गुप्तालाई पक्राउ गरेको थियो । त्यसपछि विद्यालयमा कार्यरत दुईजना कर्मचारी रियाज अन्सारी र जमिल अख्तरलाई पक्राउ गरेको थियो ।
मृतकको पारिवारिक पृष्ठभूमि
मृतक रूपेश सर्राफ र उनका दाजु सुबोध सर्राफ कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्थे । परिवारका अन्य सदस्य सुनचाँदीको कारोबारमा थिए । सर्राफ परिवार कलैयामा सुनचाँदीको व्यापारमा राम्रो दखल राख्ने परिवार हो । मृतक सर्राफद्वारा सञ्चालित बाल एकता बोर्डिङ स्कूल कलैयावासीको रोजाइमा पर्ने विद्यालयमध्येको एक
हो ।