(प्रस, सेढवा, २४ मङ्सिर/
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन नहुँदा सर्वसाधारणहरूले सास्ती भोग्नुपरेको छ ।
निकुञ्ज अन्तर्गतका पर्साका ठोरी र जीराभवानी गाउँपालिका मध्यवर्ती क्षेत्रका खोलाहरूमा बालुवा, गिट्टी तथा ग्राभेल उठाउने कार्य नहँुदा विकास निर्माण तथा निजी प्रयोजनका निर्माण कार्य प्रभावित भएको स्थानीयले बताए । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पञ्चमुखी, कुसुमवाटिका, सुनाखरी र निर्मल मध्यवर्ती उपभोक्ता समिति छन् । प्रत्येक वर्ष असारको अन्तिममा उत्खनन बन्द हुने र असोज १ गतेदेखि खुला हुने गरेकोमा यसपटक मङ्सिर महीना
सकिन लाग्दा पनि उत्खनन शुरू भएको छैन । निकुञ्ज प्रशासनको निर्देशन अनुसार ओरिया, बिरे र शिकारीबास खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरिन्छ ।
सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले २/४ दिनभित्रै खोला खुल्ने र नदीजन्य पदार्थको उत्खनन शुरू हुने बताए । उनले विगतमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रक्रिया झन्झटिलो भएकोले कागजी प्रक्रिया सहज बनाउन अलि समय लागेको बताए ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले मध्यवर्ती समितिहरूलाई नदीजन्य पदार्थ उत्खनन गर्न निर्देशन दिइसकेको बताए । उनले मध्यवर्ती समितिको सिफारिशको आधारमा निकुञ्ज शाखा कार्यालयमा राजस्व बुझाइ बालुवा, गिट्टी उठाउन सकिने बताए ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिले सो क्षेत्रमा पर्ने खोलाहरूबाट असोज महीनादेखि नै नदीजन्य पदार्थ बालुवा, गिट्टी सङ्कलन कार्य शुरू गरेको छ । निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बस्नेतले निकुञ्ज अन्तर्गत पर्ने ओडार, ठुटे र सीता खोलाबाट नदीजन्य पदार्थ उत्खनन् कार्य असोज महीनादेखि सञ्चालनमा रहेको बताए ।