बुडापेस्ट, २२ मङ्सिर/सिन्ह्वा
बुधवार साँझदेखि शुरू भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीवारसमेत जनजीवन नराम्ररी प्रभावित भएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीवार दिएको जानकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावित भएका घटनाहरू प्राप्त भएका छन् । साथै ठाउँ–ठाउँमा रूखहरू ढलेका र हाँगा भाँचिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन् ।
नियमित सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन् । ठाउँठाउँमा अवरोध पनि भएका छन् । हङ्गेरियन समाचार एजेन्सी एमटिआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमैं फसेका छन् ।
त्यसैगरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेलसेवा पनि अवरुद्ध भएका छन् ।
राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी (एफकेएफ) ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ ।
पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन् ।
उडानमा ढिलाइ हुँदा विमानस्थलहरूमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । रासस