दलको विकल्प दल

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नेपालका राजनीतिक दलहरूले केही गरेनन्, दलले देशलाई रित्तो पारे नेपाली जनताको गुनासो छ । तर उक्त गुनासो सुन्न राजनीतिक दलहरू कति पनि तयार छैनन् । कुन दल मन पर्छ भनेर सोधियो भने अधिकांश नेपालीले कुनै पनि मन पर्दैन भन्ने जवाफ दिन्छन् । दलहरूको अपरिपक्वता, अक्षमता, अपारदर्शिता, फोहरी खेल र लुटतन्त्रप्रति जनता वाक्कदिक्क र आक्रोशित छन् । जनताले पटकपटक दललाई खबरदारी गर्दा पनि नसच्चिएपछि स्थानीय निर्वाचनमा स्वतन्त्र व्यक्तिलाई जिताएर र प्रतिनिधिसभामा नयाँ राजनीतिक दललाई राम्रै सबक सिकाएका छन् । सङ्घीय राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखमा अत्यधिक मतले स्वतन्त्र व्यक्तिले जित्नु भनेको सात दशक राजनीतिक इतिहास बनाएका दलहरूलाई सामान्य पाठ होइन । काठमाडौं, धरानलगायत नेपालका प्रमुख शहरमा स्वतन्त्रले जित्दा पनि अझै दलहरूले आफ्नो अहङ्कार र दम्भ देखाइरहेको देखिन्छ । यतिबेला कुनै राजनीतिक हैसियत नबनाएका दुर्गा प्रसाईं र मुलुकका राजनीतिक दलहरूबीचको पक्ष–विपक्षमा सोचेभन्दा बढी जनता प्रसाईंको पक्ष्Fमा देखिनु पनि दलहरूप्रतिको नागरिक आक्रोश हो भन्ने बुझ्नुपर्छ । आक्रोश तथा असन्तुष्टि क्षणिक र दीर्घकालीन जुन पनि हुन सक्छ । जेहोस्, दलहरूलाई अबको विकल्प भनेको सच्चिने कि सकिने भन्नेछ ।

हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था संसारमा चलेका विभिन्न व्यवस्थाहरूमध्ये उत्कृष्ट व्यवस्था मानिएको छ । लोकतन्त्रमा राजनीतिक दलहरूको महŒवपूर्ण भूमिका हुन्छ । नेपाली जनता जतिसुकै रिसाएर दलबाहेकलाई मतदान गरे पनि दलको विकल्प स्वतन्त्र हुन सक्दैन, लोकतन्त्रमा दलको विकल्प दल नै हो । अतः लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । तर दलहरूमा लोकतान्त्रिक संस्कार हुनु अनिवार्य छ । हाम्रो मुलुकमा रहेका अधिकांश राजनीतिक दल पैसा कमाउने र ठग्ने धन्दामा लागेका हुनाले जतिसुकै दल भएपनि त्यसले दलको विकल्प दल नै हो भन्ने विश्वास नागरिकमा पार्न सकेको छैन । राजनीति दलहरूमा सैद्धान्तिक आचरण छैन । दलहरू आफ्नो नीति र सिद्धान्तमा चल्न सकेका छैनन् । प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, मधेस केन्द्रितलगायतका दलहरूको मूल मर्म सत्ताको रस्वादन मात्र रहेको हालसम्मको क्रियाकलापले देखायो ।

राजनीतिक दलहरू व्यक्ति–व्यक्तिको आकाङ्क्षा, कुण्ठा, पदलोलुपताले गर्दा जुट्ने र फुट्ने गरेका छन् । स्वार्थलोलुपताले जुटेका हुन्छन् भने फेरि त्यही स्वार्थलोलुपताले नै फुटेका हुन्छन् । दलभित्रका सङ्गठित भनिएका कार्यकर्ताहरूमा पार्टी, नीति, सिद्धान्तको पक्षपोषक नभई नेतृत्वको पिछलग्गु र झोले, हनुमान बनेका छन् । हरेक पार्टीमा झोले र टिकेहरूको हालीमुहाली छ । पार्टीलाई बलियो बनाउनेतर्फभन्दा पनि पार्टीभित्रका गुट, उपगुट, परिवारजन, भाइभारदार, नाताकुटुम्बलाई कसरी बलियो बनाउने भन्ने ध्याउन्न छ । नेतृत्वले पनि निजी सम्पत्ति बाँडे सरह आसेपासे आफन्तलाई पदहरू बाँड्ने र भजन गाउन लगाउने गरिरहेका छन् । योग्यता र क्षमताको कदर छैन । अब त दलका नेताहरू जातीयता र क्षेत्रीयताको नाममा पसल खोलेर ‘फुटाउ अनि राज गर’ को बाटोमा गइसकेका छन् । यो विकृति लोकतान्त्रिक व्यवस्थाको होइन । लोकतान्त्रिक व्यवस्थामा खुलेका दल र तिनका नेताहरूको चरित्र अलोकतान्त्रिक छ । यसर्थ व्यवस्थालाई दोष दिनेभन्दा पनि व्यवस्थाविपरीतका दलको विकल्प खोज्नु जरुरी छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।