प्रस, वीरगंज, २० मङ्सिर/
बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुरमा चोरीका मोटरसाइकलको बिगबिगीका कारण स्थानीयहरू मारमा परेका छन् ।
बारा/पर्सा तथा भारतबाट चोरी भएका मोटरसाइकलहरू कल्याणपुरमा पुग्ने गरेको र सोही ठाउँबाट दैनिक खुलेआम खरीद–बिक्री हुने गरेको स्थानीयले बताएका छन् ।
स्थानीय सुरक्षाकर्मीलाई प्रभावमा पारी सो गाउँमा रहेका केही चोरहरूले चोरीका मोटरसाइकल चढ्ने तथा बेच्ने गरेका छन् ।
सो गाउँमा विभिन्नखाले महँगा १२ वटा मोटरसाइकल रहेको स्रोतको दाबी छ । चोरीका गाडीहरूमा भारतीय नम्बर प्लेट लगाइ तथा त्यसको नक्कली कागजात बनाइ बिक्री गर्ने तथा चढ्ने गरेको स्थानीयहरूको आरोप छ । सीमासँग जोडिएको सो गाउँमा हुने सीमा वारिपारि अवैध काममा पनि ती मोटरसाइकल प्रयोग भइरहेका छन् । तस्करहरूले चोरीका मोटरसाइकलमा नै सामानहरू ओसारपोसार गर्ने गरेका छन् ।
स्रोतको अनुसार एकातिर चोरीका मोटरसाइकलहरूमा तस्करीका सामान ओसारपोसार गर्ने गरेको तथा अर्कोतिर केही मोटरसाइकलका पार्टपुर्जा खोलेर वीरगंजको बजारमा बेच्ने गरिएको छ ।
सो गाउँलाई सुरक्षा दिने प्रहरी चौकी छतवा तथा सशस्त्र प्रहरी बेस क्याम्प मुसहर्वा छ । चोरहरूले प्रहरीलाई चोरीका मोटरसाइकल चढ्न वा ड्युटीमा आउन, जानका लागि समेत दिने गरेको स्थानीयको दाबी छ ।
भारतबाट चोरी भइआएका मोटरसाइकलहरूलाई नेपालमा बिक्री वितरण गर्ने तथा नेपालबाट चोरी गरिएका मोटरसाइकलहरू भारतमा बिक्री गर्ने गरेको स्रोतले बताएको छ । तस्करीमा प्रयोग भएका मोटरसाइकलहरू पक्राउ पर्दा अनुसन्धान गरे चोरहरू सजिलैसँग पक्राउ पर्ने तथा मोटरसाइकल चोरीका घटनामा पनि न्यूनीकरण हुने स्थानीयको दाबी छ ।
यता वीरगंजमा अहिले मोटरसाइकल चोरहरूको आतङ्कले नगरवासी त्रसित छन् । वीरगंजमा आउनेजाने वा बस्ने जोकोहीको पनि मोटरसाइकल यतिबेला सुरक्षित छैन । घरबाटै मोटरसाइकल चोरी हुन थालेपछि बाटोमा पार्किङ गरिएका मोटरसाइकलको सुरक्षा कसले गर्ने ? भन्दै एकजना चालकले गुनासो गरे ।
पर्साको तथ्याङ्क हेर्दा सरदर दैनिक चारवटा मोटरसाइकल चोरी हुने गरेको र जिल्ला प्रहरी कार्यालय, पर्सामा मोटरसाइकल चोरी भएका निवेदनहरूको चाङ लागेको छ । बीमा कम्पनीहरू चोरी भएका मोटरसाइकलहरूको बीमा दिंदादिंदै हैरान छन् । केही बीमा कम्पनीले मोटरसाइकलको बीमा गर्नसमेत मानिरहेका छैनन् ।