ओमप्रकाश चौधरी, सेढवा, २० मङ्सिर/
दैनिक पाँच रूपियाँ सङ्कलन अभियानमा करीब दुई वर्ष अवधिमा आठ लाख रुपियाँ सङ्कलन भएको छ ।
पर्साको ठोरी गाउँपालिका वडा नं १ मा रहेको वृद्धवृद्धा तथा असहाय कल्याण संस्थाको खातामा सो रकम सङ्कलन भएको अभियानकर्ता सन्तोष श्रेष्ठले बताएका छन् । सो संस्थामा बस्ने वृद्धवृद्धा, असहाय तथा अपाङ्गहरूका लागि दैनिक खर्च जुटाउने उद्देश्य श्रेष्ठले दैनिक पाँच रुपियाँ संस्थाको नाममा जम्मा गर्ने अभियान आफैंबाट गरेका थिए । जसमा २१० जना चन्दादाताले उक्त रकम जम्मा गरेको श्रेष्ठले बताए । सुवर्णपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा सो संस्थाको खातामा अहिले आठ लाख रुपियाँ जम्मा भएको र जम्मा गर्ने दाताको सङ्ख्या वृद्धि भइरहेको श्रेष्ठले बताए ।
सो संस्था भारतीय सेनाबाट अवकाश पाएका आसबहादुर गुरुङले निजी खर्चबाट शुरू गरेका थिए । संस्थामा अहिले २३ जना अपाङ्ग, असहाय तथा वृद्धवृद्धा बस्छन् । गुरुङले संस्थाको खर्च धान्न नसक्दा दाताहरूले खाद्यान्न तथा नगद चन्दा सहयोग गर्न शुरू गरेका थिए । संस्थामा बसोबास गर्नेहरूको दैनिक खर्च चलाउन दीर्घकालीन व्यवस्थापनको लागि दैनिक रु पाँच अभियान शुरू गरेको श्रेष्ठले बताए । खातामा दश लाख रुपियाँ जम्मा भए सो रकमबाट अक्षयकोष स्थापना गरी ब्याजबाट संस्थाको खर्च चल्न सक्ने भएकोले यो अभियान शुरू गरेको श्रेष्ठले बताए । केही महीनाभित्र दश लाख रुपियाँ पु¥याउने लक्ष्य लिएको र नपुगे ठोरीकै केही सामाजिक अभियन्ताहरूले कम भएको रकम जम्मा गर्ने श्रेष्ठले बताए । बैंकमा दाखिला भएको रकमबाट आएको रु २७ हजार ब्याज संस्थाका अध्यक्ष गुरुङलाई पठाइसकेको अभियानकर्ता श्रेष्ठले बताए ।
सो संस्थाको खातामा एकजनाले दैनिक पाँच रुपियाँका दरले एक वर्षमा हुने एक हजार ८२५ रुपियाँ जम्मा गर्नुपर्छ । यसभन्दा बढी रकम पनि जम्मा गर्न सकिने श्रेष्ठले बताए । विशेषगरी जन्मदिन तथा अन्य खुशीका अवसरमा पनि यस संस्थाका लागि दैनिक रु पाँच अभियानका दाताहरूले अतिरिक्त आर्थिक सहयोग गरिरहेका छन् ।