प्रस, वीरगंज, १९ मङ्सिर/
पकाहामैनपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीलाई स्थानीय राजनीतिक दलका नेताहरूले ज्ञापनपत्र बुझाएका छन् ।
मङ्गलवार जसपा नेपालका संसदीय परिषद् सदस्य शिवजी साह सोनी, जनमत पार्टीका गापा संयोजक फणिन्द्रप्रसाद चौहान, एमालेका गापा उपाध्यक्ष नवल पटेललगायतले प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई ज्ञापनपत्र बुझाउँदै २०७९ वैशाखदेखि हालसम्मको लेखापरीक्षण प्रतिलिपिलगायतका विषयमा सूचना माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले सो अवधिमा भएका विकास निर्माण कार्यको विवरण, गापा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षबाट सञ्चालित योजनाहरूको विवरण, गापा कार्यालयले नियुक्त गरेको ज्यालादारी एवं करार कर्मचारीहरूको विवरण, उनीहरूले खाइपाइ आएको सेवा सुविधा, गापाले गरेको इन्धन खर्च, आर्थिक सहयोगलगायतका विषयमा सूचना माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै उनीहरूले सात दिनभित्र सूचना उपलब्ध नभए चरणबद्ध आन्दोलन गर्ने र त्यसबाट सिर्जित हुने परिणामको जिम्मेवार गापा कार्यालय हुने चेतावनी पनि दिएका छन् ।