महोत्तरी, १९ मङ्सिर/रासस
नेपाल प्रहरीले मधेस प्रदेशमा लागू पदार्थ दुव्र्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागू पदार्थको दुव्र्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेज कार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’ अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय, जनकपुरधामले जनाएको हो ।
अभियानलाई ‘एन्टी ड्रग क्याम्पनिङ’ भनिएको छ । यसै साताको प्रारम्भमा महोत्तरीबाट शुरू गरिएको अभियान अन्तर्गत दुव्र्यसनी र कारोबार गर्नेको पहिचान, नियन्त्रण, अभिलेखीकरण, मनोपरामर्श, अभिभावकसँग परामर्श र कानूनी कारबाईका चरण रहेको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।
“हामीले अभियानको पहिलो चरणमा दुव्र्यसनी र कारोबारीको पहिचान गर्न थालेका छौं, यस अन्तर्गत दुव्र्यसनी कुन अवस्थाको छ, त्यो छुट्टिन्छ,” भट्टराई भन्छन्, “भर्खरै सम्पर्कमा पुगेको भए मनोपरामर्श र संवादका विधिले अभिभावकको जिम्मा लगाइन्छ, उसको दुव्र्यसनको प्रकृति अनुसार हामी कारबाईको चरणसम्म पुग्छौं ।”
कारोबारमैं संलग्न भएका पहिचान गरिएकालाई भने कानूनी कारबाई बढाइने भट्टराईको भनाइ छ । अभियान प्रारम्भसँगै महोत्तरीमा पहिचान गरिएका ४९५ जनासँग सचेतना कक्षासँगै उनीहरूलाई मनोविज्ञबाट मनोपरामर्श दिइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
भर्खरै दुव्र्यसनीको सङ्गतमा परेका मनोपरामर्शपछि सुधारिएर नियमित पारिवारिक जीवनमा फर्कने अपेक्षा लिइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल बताउँछन् ।
भारतसँगको खुला सीमा आवतजावत भएको हुँदा दुव्र्यसनी भारतीय बजारमा गई लागूऔषध प्रयोग गरेर फर्कने, यस्ताले केही आफ्नो प्रयोगका लागि ल्याउने गरेका पाइएको मधेस प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, कारोबारीले प्रतिबन्धित यस्ता लागूऔषध लुकाइछिपाइ दूरदराजसम्म पु-याउने गरेका प्रहरी अधिकारी बताउँछन् ।
मधेसमा लागूऔषधको दुव्र्यसन र कारोबार भयावह रहेको प्रहरी अधिकारी स्वीकार गर्छन् । चालू आर्थिक वर्ष २०८०/८१ मा हालसम्म आठ जिल्लामा लागूऔषधसम्बन्धी २६३ वटा मुद्दा दर्ता भइसकेका प्रहरी नायब महानिरीक्षक भट्टराई बताउँछन् ।
यसअघि आव २०७९/८० मा ९३७ र आव २०७८/७९ मा ९२७ वटा यस प्रकृतिका मुद्दा दर्ता भएका प्रहरी अभिलेखमा उल्लेख छ । अभियानमा सीमानाकामा प्रहरी मुस्तैदी बढाइएको प्रहरीको भनाइ छ । यद्यपि दुव्र्यसनीले कति लागू पदार्थ सेवन गरेको छ ? ऊ सिकारु हो वा अभ्यस्त हो ? यो थाहा पाउन जाँच्ने यान्त्रिक उपकरण नहुँदा उनीहरूको ठीकठीक अवस्था बुझ्न कठिनाइ हुने गरेको प्रनामनि भट्टराई बताउँछन् । यसबीच यो अभियानका लागि आवश्यक उपकरण र अन्य सहयोग मधेस प्रदेश सरकारबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको उनले बताए ।
अत्यन्त भयावह बन्दै गएको लागू पदार्थ दुव्र्यसन तथा ओसारप्रसारविरुद्धको यो अभियानमा राज्यका सबै अङ्ग, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र प्रत्येक घरपरिवारको प्रत्यक्ष सहभागिता बढ्न आवश्यक रहेको मधेस प्रहरी कार्यालयले जनाएको छ ।