नेपाल–भारत सम्बन्ध : फेरिंदो भारतीय चासो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

• जगदीशप्रसाद शर्मा

भारतीय दूतावास काठमाडौंको आमन्त्रण र एउटा एनजिओको व्यवस्थापनमा भर्खरै नेपाली पत्रकारहरूको एउटा टोली भारतको विभिन्न स्थानमा भ्रमणका लागि गएको थियो । एक हप्ते कार्यक्रममा धेरै समय घुमफिर र दुई दिन वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्ध कसरी अझ सुदृढ हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो । भारतका विभिन्न मन्त्रालय, खासगरी नेपाल हेर्ने विदेश प्रभाग, भारतको उद्योग तथा वाणिज्य मन्त्रालय, जल संसाधन मन्त्रालयका विभिन्न तहका अधिकारीहरूसँग छलफलहरू भएका थिए । यसमा भारतको मुख्य चासो थियो–हामीले विभिन्न क्षेत्रमा यतिका उन्नति ग¥यौं, नेपालले भने अपेक्षित उन्नति गर्न सकेन र त्यस अवस्थाप्रति चिन्ता । हुन पनि कुनै देश जतिसुकै शक्तिशाली भएपनि उसको छिमेकी मुलुकमा राजनीतिक अस्थिरता छ, निर्माण–विकासको गति सुस्त छ भने शक्तिशाली राष्ट्रको पनि टाउको दुःखाइ बन्न पुग्छ । न गरी साध्य, न हेरि साध्य !

यिनै तथ्यहरूलाई मध्यनजर गर्दै भारतको विदेश विभागमा नेपालको वर्तमान राजनीतिक परिस्थिति, नेपालमा बढ्दो चिनियाँ गतिविधि, जल विपदा आदि विषयमा छलफल भएको थियो ।

निश्चय नै भारतले नेपालको उन्नति–प्रगतिमा आजसम्म अपेक्षित योगदान पु-याउँदै आएको छ । अन्य मुलुकहरूको तुलनामा भारतले नेपालको मानव संसाधन विकास–विभिन्न अध्ययन क्षेत्र, थुप्रै तालीम आदिमा अनवरत् गरेको सहयोग प्रशंसनीय छ । मूल चिन्ता थियो, यतिका सहयोगका बावजूद नेपालको अवस्थामा किन सुधार हुन सकेन । यसै क्रममा भारतमा विकसित भइरहेको गति–शक्ति (यातायातका विभिन्न क्ष्Fेत्र, डिजिटलाइजेशन)बारे भिडियो प्रदर्शन र विस्तारमा कुरा भएको थियो । भारतले पुरानो सङ्ग्रहालयमा विकसित गरेको डिजिटल सङ्ग्रहालयले बितेका वर्षहरूमा भारतमा भएका राजनीतिक, आर्थिक विकासका दिग्दर्शन प्रस्तुत गरेको थियो ।

अहिले विश्वभरि समस्याको प्रमुख थलो बनेको जल प्रदूषणलाई भारतले पनि क्रूर प्रहारको रूपमा भोगेको छ । तर समस्यासँग डराएर, स्थितप्रज्ञ बनेर उद्यमी मानिस बस्न सक्दैन, समाधानका उपाय पहिल्याउन जुर्मुरिएर उठ्छ भनेजस्तै भयावहरूपमा देखिएको गङ्गा नदी प्रदूषण हटाउन ‘नमामी गङ्गे’ अभियान शुरू गरेर समस्या समाधानको बाटो खोजेको मात्र होइन, त्यसलाई कार्यरूपमा नै ल्याइसकेको छ । हिजो जुन गङ्गामा जलचरहरूले वास छोडिसकेका थिए, ती अब पुनः फर्कन थालेका र अभियानले लगानी मात्र खर्चेको होइन, खर्चको भरपाईको पनि प्रत्याभूति गरेको छ । हिन्दी उखान–आम के आम, गुठली के दामजस्तै । हुनत नेपालमा पनि उद्योगहरूको स्थापनासँगै सानै रूपमा भएपनि नदी प्रदूषण बढ्न थालेको छ । नमामी गङ्गे परियोजनाको अध्ययन–भ्रमणको क्रममा नेपालका फोहर भइरहेका वीरगंजको श्रीसिया नदी, जनकपुरका नदी–नालाहरूको पनि के कसरी प्रदूषण व्यवस्थापन गर्न सकिन्छ र समस्या समाधानको उपायहरूबारे छलफल भएको थियो ।

भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउनुपर्ने प्रमुख रहेको र यसका लागि अब भारतले भौतिक सहयोग गर्नेभन्दा नेपाल आफैंले आप्mनो विकासका लागि जमर्को गर्नुपर्ने कुरालाई प्रकारान्तरले व्यक्त गरिएको थियो । कुरा साँचो पनि हो, आजसम्म कुनै पनि मुलुकको विकास अन्य मुलुकले गरिदिएको छैन, गरेर साध्य पनि छैन । जबसम्म सम्बन्धित देश आफैं जुर्मुराउँदैन, अरूको भरमा केही हुँदैन । नेपालमा आजसम्म जति पनि विदेशी सहयोग, अनुदान आए, त्यसबाट उपलब्धि हासिल गर्ने दिशामा देश सचेष्ट रहेको भए, देशको उन्नति शिखरमा पुगिसकेको हुन्थ्यो । उद्योगधन्दाको नाममा जे जति भएको छ, त्यो तात्कालिक लाभ र हात्तीको देखाउने दाँतको रूपमा भएको छ । चिनी कारखानाहरू, कपडा उद्योगहरू, कृषि औजार कारखाना, चुरोट कारखाना, जुट कारखाना, कागज कारखानाहरू आज बन्द भइसकेका छन् । निजी क्ष्Fेत्रले पनि यसै प्रकारको औद्योगिक नीतिको परिपालना ग¥यो, जसको परिणामस्वरूप तेल–घ्यू कारखाना, सिमेन्ट कारखानाको उत्पादनले विश्राम लिने अवस्था उत्पन्न भएको छ । त्यस्तै, फलाम कारखानाहरू बन्दजस्तै बन्न पुग्दा धेरैको रोजीरोटीको अपहरण भएको छ । नेपालले कहाँ र कुन रूपमा फलदायी औद्योगिक नीति अख्तियार गर्नुपर्छ, त्यो आप्mनो भूपरिवेशको अध्ययन गरेर आफ्नै क्ष्Fमताले विकसित गर्दा दिगो हुने र देशहित अनुकूल हुने देखिन्छ । निश्चय नै यस्ता छलफलहरूले आप्mनो लगानी, आप्mनो आवश्यकतालाई टेवा दिन्छ, तेस्रो मुलुकबाट सामान मगाएर, आपूmकहाँ नाम मात्रको परिवर्तन गरी पुनः विदेश पठाएर लाभ लिनेजस्तो अल्पकालीन व्यापार वा उद्योगले कुनै देशको हित हुन सक्दैन । नेपालले जल–विद्युत्को क्ष्Fेत्रमा गरेको विकास र त्यस्तो आयोजनामा आपूmले गरेको लगानीप्रति भारतीय सन्तुष्टि प्रायः छलफलको क्रममा झल्किएको थियो ।

प्रस्टरूपमा त होइन, अस्पष्ट तवरमा वर्तमान परिस्थितिले भारतलाई नेपाल डफर मुलुकको रूपमा रहिरहन वा राखिरहन प्रोत्साहित गर्छ । यस भ्रमणका क्रममा नेपालका विभिन्न क्ष्Fेत्रमा चिनियाँ गतिविधि बढेको भनेर जुन चासो र चिन्ता भारतमा देखियो, त्यसले दिक्दार स्थिति उत्पन्न गर्न सक्छ । किनकि नेपाल डफर मुलुक होइन, बन्नु पनि हुँदैन । नेपाल सबैको मित्र भएको नाताले तेस्रो मुलुकको स्वार्थमा धक्का नलाग्ने तथा हित प्रतिकूल नहुनेबाहेक सबै प्रकारको गतिविधि स्वीकार गर्ने परिस्थिति हुनुपर्दछ, जुन क्षमता सार्वभौम मुलुकमा मात्र हुन सक्छ । नेपाल बलियो सार्वभौम मुलुक बन्दा बरु भारत र चीनबीच संवाद–सेतु बन्न सक्छ । दुवै छिमेकी मुलुकबीच टकरावको अवस्थामा शक आब्जर्वरको पनि भूमिका निर्वाह गर्न सक्छ ।

यस्तो हुनुपछाडिको मनोविज्ञान के पनि हो भने भ्रमणको दौरान जति पनि छलफलहरू भए, त्यसमा नेपालप्रति सद्भावको मात्रा थियो तर सन् १९५० को नेपाल–भारत मैत्रीसन्धि परिमार्जन गर्ने प्रतिवेदनको चर्चा पनि भएन, नेपालले जारी गरेको चुच्चे नक्शा कहीं कसैको ध्यानमैं आएन । चीनको कुरा उठाएर प्रच्छन्न रूपमा यी विषयप्रति उदासीनताको भाव देखाइयो । यस सम्बन्धमा मैले व्यक्तिगतरूपमा चासो देखाउँदा नेपालको सीमा क्ष्Fेत्र हाराहारी बनेका बाँधहरूबारे अध्ययन गर्ने आश्वासनबाहेक नक्शा जारी गर्नु ओलीको हतार बताएर मैत्री सन्धि विषयमा मौन मात्र फेला प-यो ।

आजको सन्दर्भमा नेपाल र भारतबीच परम्परागत सम्बन्ध निस्तेज हुँदै गइरहेको छ । रोटी–बेटीको सम्बन्धलाई अब प्रगाढताको मापदण्ड मान्न नसकिने सोचमा भारतीयहरू पुगिसकेका छन् भने नेपाली जन अन्य तर्कको आधार टेकेर सम्बन्ध बलियो नै रहेको देखिरहेको छ । आजको युवा शिक्ष्Fित हुँदै गएसँगै परम्परा बोकेर हिंड्ने पक्षमा छैन । यस कुराको बोध भारतलाई भइसकेको छ, नेपालले पनि बुझ्नुपर्छ । आजको भारतीय वा नेपाली युवाको चासो अध्ययन, कैरियर, मनोरञ्जन, खेलतर्फ लहसिन थालेको छ । उसलाई यिनै क्ष्Fेत्रमा संलग्न गराएर नयाँ र उपलब्धिमूलक सम्बन्ध विकसित गर्नेतर्फ लाग्नु नै श्रेयस्कर देखिन्छ । र यस कुराको झल्को नेपाली पत्रकारहरूको भ्रमण टोलीको महाराष्ट्रका उपमुख्यमन्त्रीसँग भएको भेटघाटको क्रममा देखियो । नेपाली टोलीले नेपाल–भारत सम्बन्ध काठमाडौं र दिल्लीसम्म मात्र सीमित नराखी, सम्बन्ध विभाजन गरी कूटनीतिक र राजनीतिक सम्बन्धबाहेक सांस्कृतिक, खेल, मनोरञ्जन आदि क्षेत्रमा महाराष्ट्रलगायत भारतका अन्यान्य प्रदेशसँग पनि हुनुपर्ने आवश्यकता बोध गराउँदा उपमुख्यमन्त्रीले सकारात्मक चासो देखाउँदै नेपाल सरकारले त्यस्तो आवश्यकता देखेको बेला महाराष्ट्र तत्पर रहेको बताएका थिए ।

भ्रमण टोली गोवा पुगेको बेला कुनै समय नेपालमा भारतका राजदूत रहेका रञ्जन रेसँग पनि कुराकानी गरेको थियो । उनको पनि उत्सुकता नेपालमा चिनियाँ गतिविधि बढेसँग सम्बद्ध थियो । नेपालबारे राम्रो जानकारी राख्ने रे महोदयले पनि अब परम्परा मात्र नबोकेर, नयाँ सन्दर्भमा द्विदेशीय सम्बन्ध बनाउने र त्यसको प्रगाढताका लागि विभिन्न तहमा छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । सोही क्रममा गोवामा सेवानिवृत्त जीवन बिताउँदै विभिन्न अनुसन्धानात्मक कार्यमा संलग्न रहेका र वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासका स्थापनाकालका कन्सुलर जोन एस शिल्शीसँग पनि अनौपचारिकरूपमा नेपाल–भारत सम्बन्धबारे कुराकानी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।