प्रस, वीरगंज, १७ मङ्सिर/
नारायणी अस्पताल, वीरगंजमा प्रसूतिपश्चात् हेरचाह गर्न आवश्यक पर्ने पोस्ट नेटल केयर (पिएनसी) कक्षको क्षमता वृद्धि गरिने भएको छ । अहिले अस्पतालमा उपलब्ध पोस्ट नेटल केयर कक्षले प्रसूतिको चाप थेग्न नसक्दा वीरगंज महानगरको पहलमा कन्साई नेरोलक पेन्ट जापान प्रालिले अस्पतालमा रु ४० लाखको लागतमा थप क्षमता वृद्धि गर्न लागेको हो । कन्साई नेरोलक पेन्ट जापान प्रालिले प्रसूति भएका आमा र बच्चालाई राख्न हाल रहेको क्षमतामा २५ शय्या वृद्धि गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले बताए ।
उनले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा कन्साई नेरोलक पेन्टस्, महानगर र अस्पतालबीच त्रिपक्षीय हस्ताक्षर भएको र सोमवारदेखि नै निर्माण कार्य शुरू गरिने बताए ।
महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साह र कन्साई नेरोलक पेन्ट्सका मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख सिंहले अस्पतालमा गुणस्तरीय सेवा दिन र बिरामीमैत्री संरचना निर्माण गर्न निर्देशन दिए । उनले नारायणी अस्पतालको सेवा गुणस्तरीय बनाउन महानगरपालिकाले आइसियू सञ्चालनका लागि आवश्यक सहयोग गरेको, अस्पतालको बाह्य क्षेत्रको सरसफाइ गराउँदै आएको बताए । अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले अस्पतालमा विद्यमान समस्याहरू सबैजना मिलेर समाधान गर्न सकिने बताए ।