कमजोरी सुधारौं

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

युरोपेली सङ्घ (इयू) ले नेपाली विमानलाई कालोसूचीमा राखेको एक दशक भयो । सन् २०१० देखि २०१२ तीन वर्षको बीचमा नेपालमा पाँचवटा हवाई दुर्घटना भए । सन् २०१० मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । सन् २०११ मा तारा एयरको विमान ओखलढुङ्गामा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । सोही वर्ष बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना हुँदा १९ जनाको मृत्यु भयो । त्यसैगरी, सन् २०१२ मा अग्नि एयरको विमान मुस्ताड्ढो जोमसोममा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । सोही वर्ष सीता एअरको विमान भक्तपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गयो । लगातारका हवाई दुर्घटनाले नेपाली आकाश र वायुसेवा असुरक्षित छ भन्ने पुष्टि ग¥यो । यसैलाई आधार मानेर इयूले नेपाललाई हवाई उड्डयनको कालोसूचीमा राखिदियो । सन् २०१३ देखि इयूले नेपाली विमानलाई कालोसूचीमा राखेको हो । यो अझै कायम छ । यस वर्ष कालोसूचीबाट हट्छ भन्ने निकै चर्चा थियो । तर इयूले बितेको बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै आफ्नो आकाश खुला नगरिएको जनाएपछि पुनः निराश बनाएको छ ।

प्रतिबन्ध लागेपछि नेपालका कुनै पनि वायुसेवा प्रदायक कम्पनीका जहाजले युरोपका २६ मुलुकका आकाशमा उडान भर्न पाएका छैनन् । इयूबाट पनि टर्किस एअरलाइन्सबाहेक अन्य वायुसेवा कम्पनीका जहाजले नेपालमा उडान भर्ने गरेका छैनन् । यो प्रतिबन्धले नेपालको नागरिक उड्डयन क्षेत्रलाई समस्यामा पारेको त छ नै, युरोपसँगको व्यापारमा पनि ठूलो क्षति पुगेको छ । नेपाली नागरिक उड्डयन क्षेत्रलाई युरोपेली सङ्घको प्रतिबन्ध सूचीबाट हटाउन लागिपरेको कुरा सरकार र जिम्मेवार मन्त्रीहरूले बारम्बार दोहो¥याउँदै आएका थिए । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले केही दिनयता नेपाली आकाश र जहाज सुरक्षित रहेको देखाउन भरमग्दुर प्रयास गरिरहेको थियो । इयूको अडिट टोली नेपाल आउने जानकारी पाएपछि नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणमा निकै जाँगर चलेको भान भएको थियो । प्रतिबन्ध लागेको मुलुकको हवाई क्षेत्रको आवधिकरूपमा अडिट तथा निरीक्षण इयूले आफैं अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्छ । यस क्रममा मुलुकका अर्थमन्त्री डा प्रकाशशरण महतले इयूका कमिश्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपाललाई हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका थिए । हवाई क्षेत्रमा धेरै सुधार गरिसकेको दाबी गर्दै निगम र सरकारले आआफ्नो तवरबाट इयूका पदाधिकारीहरूसँग भनसुन, अनुरोध गरेका थिए ।

इयूले हाल जारी गरेको प्रतिवेदनमा नेपाल वायुसेवा निगमको संस्थागत कमजोरीहरू औंल्याउँदै निगमको नेतृत्व, प्रक्रियागत पद्धति तथा समग्र प्रणालीमा व्यापक सुधार गरिनुपर्ने सुझाव दिएको छ । सुरक्षा व्यवस्थापन प्रणाली पालना नगरेको, अनुगमनमा औंल्याएका कमीकमजोरी सुधार नगरेको, गुणस्तर सुधार नगरेको, उडान समयको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको उल्लेख गरिएको छ । काम तथा जिम्मेवारीको सवालमा हाम्रो मुलुकमा जस्तो अरू मुलुकमा भनसुन, अनुरोध तथा मायामोह चल्दैन भन्ने कुरा इयूको प्रतिवेदनले सिकाएको छ । हुन पनि हवाई सेवा हजारौं यात्रुको जीवनसँग सम्बन्धित कुरा हो । अरूको अगाडि हात जोड्नुको साटो कमीकमजोरी सुधारतर्फ तदारूकता देखाउनु सबैको हितमा छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।