बिहेको लगनमा पनि गुलजार भएन वीरगंजका होटल तथा पार्टी प्यालेस

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

राधेश्याम पटेल, वीरगंज, १४ मङ्सिर/
बितेका वर्षमा मङ्सिर महीनामा गुलजार देखिने वीरगंजका होटल तथा पार्टी प्यालेसहरू यस वर्ष सुनसान देखिएका छन् । कुल क्षमताको एक तिहाइ अर्थात् ३३ प्रतिशत मात्र वीरगंजका होटल तथा पार्टी प्यालेसको अकुपेन्सी रहेको बताइएको छ । मङ्सिर महीनामा अन्य महीनाभन्दा बढी भीडभाड र बुकिङ अत्यधिक हुने गथ्र्यो तर यस वर्ष खासै चहलपहल नदेखिएको व्यवसायीहरू बताउँछन् । मागभन्दा बढी होटल तथा पार्टी प्यालेस सञ्चालनमा आउँदा वीरगंजका होटल तथा पार्टी प्यालेसको अकुपेन्सी नबढेको होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साले जनाएको छ ।

सङ्घका अध्यक्ष हरि पन्तले पोहोर/परारभन्दा यस वर्षको बिहेवारीको सिजनमा पनि होटल तथा पार्टी प्यालेसको अकुपेन्सी नबढेकोमा चिन्ता व्यक्त गरे । “बजारमा आर्थिक मन्दी छ, अर्को वीरगंजमा होटल तथा पार्टी प्यालेसहरू दिनदिनै बढ्दै गएका छन््, जसले गर्दा समस्या आएको हो,” उनले भने, “बारा/पर्साको बुकिङसँगै भारत बिहारबाट हुने बुकिङ पनि घटेको छ ।”

कोभिडपछि वीरगंजका होटल तथा पार्टी प्यालेस व्यवसाय निरन्तर घाटामा चलिरहेको उनले बताए । “कुल क्षमताको एक तिहाइमा व्यवसाय चल्दा सञ्चालन खर्च जेनतेन धान्न बाध्य छौं,” उनले भने । वीरगंजमा चार तारे होटल लड्र्स दियालो प्लाजा, क्लार्क रिसोर्ट, तीन तारेमा होटल भिस्वा, होटल सुरज, अन्य स्तरीय होटलमा होटल मकालु, पूजन, कुमु, हीरा प्लाजा, कन्ट्री इन, वीरगंज गेटवेलगायत ठूला तथा साना लज गरी ८० वटा होटल सञ्चालनमा छन् ।

त्यसैगरी, टाउन हल, रोयल पार्टी प्यालेस, क्लासिक ब्याङ्क्यूट, साह दरबार पार्टी प्यालेस, कुमु, अनमोल, सोल्टी गार्डेन, ओम, देव, लक्ष्मीनारायण,हरिओम, विन्ध्यवासिनी, डायमन्ड, आदर्श, परम्परालगायत १५ भन्दा बढी पार्टी प्यालेस पछिल्लो पाँच वर्षभित्रै सञ्चालनमा आएका छन् । होटल, पार्टी प्यालेस एवं साना–ठूला रेस्टुराँमैं मात्रै वीरगंजमा २० अर्बभन्दा बढीको लगानी भइसकेको छ । तर सबै होटल तथा पार्टी प्यालेसको कारोबार न्यून देखिएको छ । नेपाली र भारतीय ग्राहकको रोजाइमा वीरगंजका होटल लड्र्स दियालो, होटल भिस्वा, क्लार्क रिसोर्ट, टाउन हाल, ओम, क्लासिक, अनमोल, हरिओम, रोयल, क्लासिकलगायत बढी बुकिङ हुन्छन् भने बाँकी पार्टी प्यालेसमा बुकिङ कम हुन्छ ।

पार्टी प्यालेस बढी भएकाले बुकिड्ढर्ताले सबै पार्टी प्यालेस चहारेर मात्रै बुकिङ गर्ने गर्छन् । यसो हुँदा पहिलेको भाउ पनि नपाएको उनीहरूको दुःखेसो छ । बुकिङ दरमा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको देखिएको ओम पार्टी प्यालेसका सञ्चालन मयङ्क मेहता बताउँछन् । प्रतिस्पर्धाका कारण कम मूल्यमा बुकिङ गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले तीन वर्षअघि यो सिजनमा धमाधम बुकिङ हुने गरेकामा अहिले त्यो सङ्ख्या धेरै घटेको बताए । उनले होटल तथा पार्टी प्यालेसको बुकिङ प्रायःजसो अनलाइन नै भइरहेकोसमेत बताए ।

वीरगंजका होटल तथा पार्टी प्यालेसमा करीब पाँच हजारजनालाई सेवा दिने क्षमता भएको र करीब डेढ हजारजना कामदारलाई रोजगार दिइएको छ । होटल वीरगंज गेटवेका सञ्चालक कुबेर कार्कीका अनुसार वीरगंजका होटल तथा पार्टी प्यालेस भारतीय पर्यटकमाथि आश्रित भए तापनि सीमानाकामा स्थानीय प्रशासनको गिद्दे नजरको कारण भारतीय पर्यटक नेपाल प्रवेश गर्न डराउने गरेको उनले बताए । “वीरगंजका अधिकांश होटल तथा पार्टी प्यालेस आर्थिक मन्दीको शिकार भइरहेका छन्, त्यसमा पनि भारतबाट आउने पाहुनाहरू जनपद र सशस्त्र प्रहरीको निशानामा पर्छन्, रक्सौलबाट छिर्ने बित्तिकै विभिन्न ठाउँमा चेकजाँच र अनावश्यक झन्झट खेप्नुपर्छ, जसले गर्दा भारतीय पर्यटकहरू झोंझ मान्छन्,” उनले भने, “वीरगंज र नेपाल घुमफिर गर्न आउने र बिहेवारी तथा अन्य कार्यक्रम गर्न आउने भारतीय पर्यटक अहिलेको अवस्थामा वीरगंज प्रवेश गर्न हिच्किचाइरहेका छन् ।” नेपालमा आउँदा ठूलो परिमाणमा भारतीय नोट लिएर आउन नमिल्ने भएकोले पनि उनीहरू नेपाल आउन कठिन मान्ने गरेको उनको भनाइ छ । भारतीय पर्यटकहरूले वीरगंज भन्सार क्षेत्रमा एउटा सरकारी सटही काउन्टरको स्थापनाको लागि समेत माग गरेका छन् ।

अन्तराष्ट्रिय आर्थिक मन्दीको असर नेपालको आन्तरिक र बाह्य पर्यटकमा समेत परेको हँुदा पहिलेभन्दा होटल तथा पार्टी प्यालेसमा जन्मदिन, वैवाहिक वर्षगाँठ, विवाह, टीकाटालोलगायतका कार्यक्रममा कमी आएको गण्डकस्थित क्लार्क रिसोर्टका सञ्चालक सुनील खेतान बताउँछन् । गैरसरकारी संस्था, सरकारी तथा कर्पोरेट कार्यक्रम पनि कम भइरहेकाले पनि व्यवसायमा धक्का पुगेको होटल व्यवसायीहरूको विश्लेषण छ ।

अहिले वीरगंजका होटल तथा पार्टी प्यालेसमा जन्मदिन, वैवाहिक वर्षगाँठ, टीकाटालो फूड र क्याटरिङ छाडेर रु १–२ लाखमा बुकिङ भइरहेका छन् भने विवाहको बुकिङ फूड–क्याटरिङबाहेक रु दुईदेखि चार लाखसम्ममा भइरहेको छ । तर पनि बुकिङ पाउन समस्या भइरहेको व्यवसायीहरूको भनाइ छ । फूड र क्याटरिङ खर्च वैवाहिक कार्यक्रममा पाहुनाको सङ्ख्या र खानाको परिकारका अधारमा रु पाँचदेखि १० लाखसम्म पर्ने गरेको होटल व्यवसायीहरू बताउँछन् ।

बिहारमा मदिरा प्रतिबन्धले तीन वर्षअघि सीमावर्ती क्षेत्रका अधिकांश भारतीय वीरगंजकै होटल तथा पार्टी प्यालेसमा वैवाहिक कार्यक्रम बुकिङ गर्ने गर्थे । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै नेपालबाट हुने मदिरा तस्करीले गर्दा बिहारका होटल तथा पार्टी प्यालेसमा मदिरा सहजै पाउने गरेकाले पनि सीमावर्ती भारतीयहरूको वैवाहिक कार्यक्रमको लागि वीरगंज आउन कम भएको व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।