प्रस, सेढवा, १४ कात्तिक/
जीराभवानी गाउँपालिका–३ मा जारी परसवा गोल्डकप २०८० को लिग चरण अन्तर्गत मङ्गलवारको पहिलो खेलमा निचुटा विजयी भएको छ ।
निचुटाले आयोजक न्यू एभरेस्ट क्लब, परसवालाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गरी तीन अङ्क प्राप्त गरेको छ । निचुटाका जर्सी नं १६ का युवराज खड्काले निर्णायक गोल गरेका थिए । सो खेलमा निचुटाका जर्सी नं ७ का सागर चौधरी ‘म्यान अफ दी म्याच’ घोषित भए । चौधरीलाई नगदसहित ट्रफी प्रदान गरियो । समूह ‘बी’ अन्तर्गत रहेका परसवा र निचुटाले तीन/तीन अङ्क प्राप्त गरेका छन् भने बारा–११ को अङ्कविहीन छ । निचुटा र बारा–११ बीचको खेल हुन बाँकी छ ।
त्यस्तै, आजै भएको लिग चरणकै दोस्रो खेलमा मनहर्वा, बारा विजयी भएको छ । मनहर्वाले सिद्धपुरलाई शून्यका विरुद्व सात गोलको विशाल अन्तरले पराजित गरी तीन अङ्क बटुलेको छ ।
यस खेलमा ‘म्यान अफ दी म्याच’ मनहर्वाका गोलकीपर युनेश चौधरी घोषित भए । चौधरीले दुर्ईवटा पेनाल्टी बचाएका थिए । मनहर्वाका लागि निमेश तामाङले तीन गोल गरेका थिए भने मनीष क्षेत्री, मिलन सङ्गठन, अमृत श्रेष्ठ, रूलेश तिमिल्सिनाले एक/एक गोल गरेका थिए । सिद्धपुर दोस्रो हारसँगै लिग चरणबाट बाहिरिएको छ । समूह ‘सी’मा पकडीटोल र मनहर्वाले तीन/तीन अङ्क प्राप्त गरेका छन भने यी टीमबीच एउटा खेल बाँकी नै छ ।
भोलिको लिग चरणको पहिलो खेल सेढवा र बुद्धनगरबीच हुनेछ । समूह ‘ए’मा रहेका सेढवा र पटेर्वासुगौलीको तीन/तीन अङ्क रहेको छ भने बुद्धनगर अङ्कविहीन छ । त्यस्तै, दोस्रो खेल बाराको बकुलिया र ठोरीबीच हुनेछ ।