प्रस, परवानीपुर, ९ कात्तिक/
वीरगंज महानगरपालिका–७ का अध्यक्ष हीराकाजी महर्जनलाई मुक्का प्रहार गरी कुटपिट गरेका नगवा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रवीन्द्र साह तुराहालाई कारबाईको माग गरिएको छ ।
वडाध्यक्ष महर्जनसँगै वीरगंज मनपाका आठवटा वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरूले बुधवार रामटोल हनुमान मन्दिरस्थित दुर्गापूजा समितिको पण्डालमा पत्रकार सम्मेलन गरी कारबाईको माग गरेका हुन् ।
गत कात्तिक ५ गते अष्टमीको राति ११ः३० बजे दुर्गापूजा स्थलमा सांस्कृतिक कार्यक्रम गर्ने विषयमा विवाद हुँदा सुरक्षाकर्मीहरूले लाठीचार्ज गर्नुका साथै प्रनानि तुराहाले वडाध्यक्षलाई कुटपिट गरेका थिए । तुराहाको मुक्का प्रहारबाट वडाध्यक्ष महर्जनको बायाँ आँखामा गम्भीर चोट लागेको छ । आफू खाना खाएर घरमा सुतिरहेको बेला राति ११ बजे पर्सा प्रहरीका विभिन्न युनिटले कार्यक्रममा हस्तक्षेप गरेपछि टोलवासीले वडाध्यक्ष महर्जनलाई प्रशासनलाई मनाउन आग्रह गरेका थिए ।
उनी कार्यक्रम स्थल पुगेर सुरक्षाकर्मीका इन्चार्जहरूलाई आग्रह गरेका थिए । तर आफ्नो आग्रहलाई बेवास्ता गर्दै प्रहरीले आफूलगायत सर्वसाधारण र भक्तजनहरूमाथि लाठीचार्ज गरेको र सोही क्रममा आफूमाथि पनि प्रहरीले ज्यादती गरेको उनले जानकारी गराए ।
कुटपिटसँगै प्रहरीले मापसे गरेको भन्दै वडाध्यक्षसहित तीनजनालाई रातभरि थुनामा राखेर बिहान १० बजे रिहा गरेको थियो ।
सोही घटनालाई लिएर वीरगंज मनपाको कार्यपालिका बोर्डले दोषी प्रहरीमाथि छानबीन र आवश्यक कारबाईको माग गरेको छ । नेपाली काङ्ग्रेसबाट वडाध्यक्ष भएकाले नेकाबाट पनि कारबाईको माग गरिएको छ ।