ड्राइपोर्टबाट दशवटा कन्टेनर चोरी, सिपिङलाइनले खोज्न थाले कन्टेनर

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

राधेश्याम पटेल, परवानीपुर, २० भदौ/

श्रीसियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंजमा अहिले अन्तर्राष्ट्रिय सिपिङलाइन कम्पनीहरूले आआफ्नो कन्टेनरको खोजी कार्य शुरू गरेका छन् ।

ड्राइपोर्ट भन्सार यार्डबाटै सञ्चालनको ठेक्का पाएको प्रिस्टिन भ्यालीकै कर्मचारीको सेटिङमा दशवटा कन्टेनर चोरीका घटना सार्वजनिक भएपछि अधिकांश सिपिङलाइन कम्पनीले आआफ्ना स्थानीय प्रतिनिधिमार्फत कन्टनेरहरूको खोजी कार्य शुरू गरेका हुन् ।

ड्राइपोर्ट भन्सारमा अहिले सिपिङलाइन कम्पनीहरूबीच खैलाबैला मचेको छ, सबैले आआफ्नो कन्टेनरहरूको स्टक मिलाउन शुरू गरेका छन्, एकजना सिपिङलाइनका प्रतिनिधिले भने– जबदेखि प्रिस्टिनले काम शुरू गरेको छ, त्यस अवधिदेखि हालसम्म बाहिर गएका ८२ वटा कन्टनेरमा आशङ्का छ, ती सबै कन्टेनरको खोजी भइरहेको छ, जसमध्ये विगत चार दिनमा १९ वटा कन्टनेर ड्राइपोर्टमा फिर्ता ल्याएर स्टक मिलाइएको छ । केही सिपिङलाइनले प्रिस्टिनको भुक्तानी पनि रोकेर आआफ्ना कन्टेनरको स्टक मिलाइरहेका छन् ।

१० वटा कन्टनेर मक्र्सलाइनको चोरी भएको घटना प्रकाशमा आएपछि अहिले उक्त कम्पनीसँगै जिम, वन, वहान, इभरग्रीन, समुद्रा, एमएसी, सिएमए बिएलपिएल, आरसिएल, ओओसिआरलगायत सिपिङलाइन कम्पनीहरूले आआफ्नो कन्टेनरको हालको अवस्थाबारे चासो राखेका हुन् । तर प्रिस्टिन भ्याली ड्राइपोर्टका अधिकारीहरूले ८२ वटा कन्टेनर बाहिर गएकामा आशङ्का नगर्न स्पष्ट पार्दै १० वटा कन्टेनर मात्रै चोरी भएको दाबी गरेका छन् ।

कतिपय कन्टनेर आयातकर्ताले सामानसहित सिपरबाट खरीद गर्छन्, प्रिस्टिनका प्रमुख सञ्चालन अधिकृत अतुल शर्माले भने– बाहिर गएका कन्टनेर त्यस्ता हुन सक्छन्, कन्टनेर चोरीका घटना बाहिरिएपछि हाम्रो जिम्मेवारी बढेको छ, सबैले कम्पनीले स्टक मिलाइरहेका छन्, यो सत्य हो । तर ८२ वटा कन्टनेर गायब भएको कुरा निराधार हो । उनले केही दिनमैं यसबारे यकीन तथ्याङ्क सार्वजनिक हुने बताए ।

ड्राइपोर्ट सञ्चालनको नियामक निकाय वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात विकास समिति, वीरगंजका प्रमुख कमल ज्ञवालीले आफूले १० वटा मात्रै कन्टेनर चोरी भएको घटनाबारे माथिल्लो निकायलाई लेखेर पत्राचार गरेको बताउँदै थप कन्टेनर गायब भएको विषयबारे जानकारी नभएको बताए । ड्राइपोर्ट भन्सार प्रमुख डा रामप्रसाद मैनालीले कन्टेनर चोरीको विषयमा प्रिस्टिनले अनुसन्धान गरिरहेको र उसैले चोरीमा संलग्न व्यक्तिलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए । उनले आफूहरूको काम सामानको जँँचपास गरी भन्सार महसूल तिराउने मात्र भएको प्रस्ट्याए ।

चोरी भएका १० मध्ये आठवटा फिर्ता

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट चोरी भएका १० वटा कन्टेनरमध्ये आठवटा कन्टेनर फिर्ता भएका छन् । बाँकी दुईवटा कन्टेनर फिर्ता गराउन पहल भइरहेको छ । ड्राइपोर्ट सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टकै कर्मचारीको संलग्नतामा अवैधरूपमा वीरगंज, सिमरा, भरतपुर, पोखराका व्यवसायीलाई बेचिएका आठवटा कन्टेनर फिर्ता भइसकेका छन् भने श्री एयरलाइन्स, काठमाडौंलाई बेचिएका दुईवटा ४० फुटे कन्टेनर फिर्ता नभएको प्रिस्टिन भ्यालीले जनाएको छ ।

अवैधरूपमा बेचिएका कन्टेनरका खरीदकर्ताहरूको सहकार्यमा उनीहरूको रकम फिर्ता गरी कन्टनेर फिर्ता गराइएको प्रिस्टिन भ्याली ड्राइपोर्टका प्रमुख सञ्चालन अधिकृत अतुल शर्माले बताए । प्रिस्टिन भ्यालीकै कस्टम रिलेशन म्यानेजर विक्रमप्रताप सिंहको संलग्नतामा गत असार २१ देखि साउन १९ गतेसम्म चार चरणमा १० वटा कन्टनेर बेचिएको थियो । सिंहले वीरगंजका सन्तोष पटेल, उमेश पटेल, शत्रुघ्न चौधरी, विशेश्वरप्रसाद चौधरीलाई चारवटा ४० फुटे र छवटा २० फुटे गरी कुल १० वटा कन्टनेर बेचेको प्रिस्टिनको अनुसन्धानबाट खुलेको थियो ।

प्रिस्टिनका कर्मचारी सिंहले आफ्नै खातामा रकम जम्मा गराइ सिपिङलाइनको ‘नो अब्जेक्शन सर्टिफिकेट’ उपलब्ध गराउने झूटो आश्वासन दिई सडकमार्गबाट सो कन्टनेरमा सामान निकासी हुने भनी एक्सपोर्ट बाइ रोड अर्थात् फर्जी गेटपास बनाएर ती कन्टेनरहरू बेचेको घटना सार्वजनिक भएको थियो । त्यसपछि प्रिस्टिनले कन्टेनर चोरी प्रकरणमा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी गरेको थियो । तर प्रिस्टिनका कर्मचारी सिंह अहिले फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

वार्तामा खरीदकर्ताले आफ्नो रकम फिर्ता लिई कन्टेनर फिर्ता गर्ने सहमति गरेका थिए । सहमतिमा फिर्ता दिइने रकम प्रिस्टिन भ्याली ड्राइपोर्टले बेहोर्ने जनाइएको थियो । प्रिस्टिनले प्रारम्भिक चरणमा फ्ल्यास फ्रेट लजिस्टिक काठमाडौंबाट आफ्नै पहलमा तीनवटा कन्टनेर फिर्ता ल्याएको थियो भने बाँकी वीरगंजका खरीदकर्ताबाट दुई सातामा थप पाँचवटा कन्टेनर फिर्ता ल्याएको छ भने बाँकी दुईवटा फिर्ता ल्याउन पहल भइरहेको छ । वीरगंज–१४ पिपरा निवासी एपेक्स कार्गोका सन्तोष पटेलमार्फत नेपाल सिपिङ लाइन एन्ड एयर लजिस्टिकमार्फत खरीद गरेको श्री एयरलाइन्स, काठमाडौंले हालसम्म कन्टेनर फिर्ता गरेको छैन । मूअकसहित कन्टेनर खरीद गरी त्रिभुवन विमानस्थलमा वातानुकूलित कार्यालय बनाएकोले कन्टनेर फिर्ता गर्न सो कम्पनीले आलटाल गरिरहेको छ । कार्यालय बनाउँदा कम्पनीको करीब १० लाखभन्दा बढी खर्च भइसकेकोले ४० फुटे दुईवटा कन्टनेर फिर्ता नभएको प्रिस्टिनले जनाएको छ । श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले कन्टनेर फिर्ता गर्ने यसअघि बताएका थिए । तर अहिले सोबारेमा बुझ्नै पर्ने र बुझेर बताउने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।