प्रस, पर्सागढी, २० भदौ/
जीतपुरदेखि पश्चिम रङ्गपुरसम्मको जनता सडकमा चल्ने तीन पाङ्ग्रे ईरिक्शा, अटोहरू दुई दिनदेखि हडतालमा छन् ।
जनता सडकमा यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाले मात्र सवारीकर उठाइरहेकोमा अहिले आएर वीरगंज महानगरपालिकाले समेत सवारीकर उठाउन थालेपछि तीन पाङ्ग्रे सवारी चालकहरू आन्दोलित भएका हुन् । उनीहरूले जनता सडकमा चारवटा पालिका जीतपुरसिमरा उपमहानगर, वीरगंज महानगर, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गापा पर्ने र अहिले दुईवटा पालिकाले सवारीकर लिन थालेका रआगामी दिनमा थप दुई पालिकाले सवारीकर लिने हो भने आफूहरूले के कमाउने के खाने भन्ने समस्या आइपर्ने हुँदा यसको निराकरण हुनुपर्ने माग गरेका छन् । उनीहरूले महानगर, उपमहानगरले चार पाङ्ग्रे सवारीसाधनबाट मात्र कर लिन भनिए पनि ठेकेदारहरूले जोर जबरजस्ती तीन पाङ्ग्रे सवारीसाधनहरूसँग पनि सवारीकर लिइरहेको बताए । यो रूटमा नारायणी जनसेवा यातायात तथा गुप्ता यातायातका तीन पाङ्ग्रे सवारीसाधनहरू चल्छन् ।
रूट इन्चार्जद्वय फिरोज सिद्दिकी र अमित वर्माले ठेकेदारहरूले जोर जबरजस्ती कर असुल गरिरहेको र प्रहरी भने तमासे बनेको आरोप लगाए ।
गैरकानूनी तवरबाट कर उठाउने कार्य रोक्ने जिम्मा प्रहरीको भएको भन्दै उनीहरूले प्रहरीले उल्टो सवारी चालकहरूलाई बाटो अवरुद्ध नगरी सम्बन्धित निकायबाट समस्याको समाधान गर्न सुझाव दिएको भन्दै गुनासो गरे ।