- सञ्जय साह मित्र
अगम्यलाई बोधगम्य बनाउने कला नै विज्ञान हो । जो सरल छ त्यसलाई दार्शनिक बनाउने कला पनि विज्ञान हो । यसैले विज्ञान र दर्शन दुवै अनन्त छन् । दर्शन र विज्ञान दुवै एक अर्काका पूरक छन् । दर्शन विज्ञान हो र विज्ञान दर्शन हो । विज्ञानको दार्शनिक मूल्य हुन्छ र दर्शनको वैज्ञानिक महत्व हुन्छ । यसैले जबसम्म कुनै कुराको पुष्टि हुँदैन तबसम्म दर्शन रहन्छ । दर्शनलाई सरलरूपमा नबुझ्नेले रहस्य पनि भन्दछन् र जब रहस्यबाट पर्दा हट्दछ तब त्यो सरल भइहाल्छ । सरल कुरालाई अझ सरल बनाउने तरीका वैज्ञानिक हुन्छ ।
सन्दर्भ कृष्णाष्टमी र कृष्णसित सम्बन्धित छ । एक पक्षले कृष्णको अस्तित्व स्वीकार गरेको पाइँदैन, तर अर्को पक्षले साक्ष्यमाथि साक्ष्य दिइरहन्छ । हो, प्रश्न उठाउनुपर्छ अनि त उत्तरको खोजी हुन्छ । यही त विज्ञान हो, तर सत्य देखेपछि स्वीकार गर्नुपर्छ । छर्लङ्ग घाम देख्दादेख्दै पनि मैले देखिनँ भन्नेलाई केही भन्न सकिन्नँ । यसैले भनिन्छ, सुतेकालाई उठाउन सकिन्छ तर सुतेको अभिनय गर्नेलाई उठाउन सकिंदैन । यदि धार्मिक ग्रन्थलाई नमान्ने हो भने ठीकै छ, अन्य साक्ष्यलाई त मान्न सकिन्छ ? फेरि एउटै धर्मको पुस्तकमा लेखिएको भए पो । भगवान् श्रीकृष्णबारे धेरै धार्मिक समुदायको पुस्तकमा चर्चा गरिएको पाइन्छ । धेरै देशसम्म कृष्णसित सम्बन्धित आख्यानहरू पाइन्छन् । हजारौं वर्ष पुराना मूर्तिहरू पनि पाइन्छन् । हो, काल, स्थान तथा प्रवृत्तिको पार्थक्यले केही पृथकता आउनुलाई अस्वाभाविक मान्न सकिन्न तर अस्तित्व नै अस्वीकार गर्नुपर्छ भन्ने चाहिं होइन । भगवान् श्रीकृष्णको जन्म जेलमा बन्दी जीवन बिताइरहेका मातापिताबाट भएको हो भन्नेमा शास्त्रहरूसँगै समाज पनि पूर्ण रूपमा सहमत छ ।
श्रीकृष्णका अनेक नाम छन् । कन्हैया, श्याम, गोपाल, केशव, द्वारकेश, द्वारकाधीश, वासुदेव आदि उनका प्रचलित नाम हुन् । हरेक नामको आफ्नै विशेषता रहेको छ । हरेक नाममा अलग अलग व्यक्तित्व पनि लुकेको मानिन्छ । अहिलेसम्म श्रीकृष्णलाई विश्वका विद्वान्हरूले अनेक व्यक्तित्वको रूपमा मानिरहेका छन् । उनलाई निष्काम कमयोगी, आदर्श दार्शनिक, स्थितप्रज्ञ एवं दैवी सम्पदा सुसज्जित महान् पुरुषका रूपमा विश्वले विश्वास गरिरहेको छ । उनले युद्धको मैदानमा अर्जुनसित गरेको संवादको सङ्ग्रह, जसलाई गीता भनिएको छ, विश्वकै लोकप्रिय ग्रन्थको रूपमा रहेको छ । विश्वका करीब धेरै भाषामा अनुवाद भइसकेको तथा विश्वका सबै जसो महान् विद्वान्ले अध्ययन गरेको, उदाहरण दिने गरेको गीतालाई जगत्ज्ञान पुस्तक भन्ने गरिएको छ भने गीताको अमूल्य ज्ञान दिने श्रीकृष्णलाई जगत्गुरुको सम्मान वा उपाधि पनि दिइएको छ ।
श्रीकृष्णको जन्म नै असहज परिवेशमा भएको हो । कारागारभित्र जन्मिनुलाई त्यस युगमा पनि असहज नै मान्न सकिन्छ । उनको जन्मलाई अवतार किन भनिएको छ भने कतिपयको मान्यता छ कि उनी प्रकट भएका हुन् । कतिपयले अष्ठभुजारूपमा अपरिमित तेजसहित श्रीकृष्ण प्रकट भएका थिए भनेर मान्दछन् भने कतिपयले विष्णुको चतुर्भुज रूपकै स्वरूपमा श्रीकृष्ण प्रकट भएको र वसुदेव–देवकीको बिन्तीपछि बाल्य रूपमा आएको मान्दछन् । जन्मनासाथ श्रीकृष्णलाई अन्यत्र लैजानुपर्ने थियो । अत्यन्त कडा पहरा थियो । भनिन्छ, श्रीकृष्णकै कृपाले नेल खुले, ढोकाहरू खुले, पहरेदारहरू निदाए, बस्तीमा कोही पनि घरबाहिर निस्केन, उनलाई बाहिर लैजाँदा कसैले देखेन, कसैले थाहा पाएन । यस पौराणिक घटनालाई विराट् चमत्कार मानिन्छ । जन्मनुपूर्व नै आएको निर्धारित सङ्कटलाई उनी आफैंले टालेका थिए र निकै हदसम्म सुरक्षित वातावरण बनाएका थिए । वसुदेव–देवकीको आठौं सन्तान छोरा हुनुपर्ने भविष्यवाणी भएको थियो र सोही अनुरूप श्रीकृष्णको जन्म भएको थियो तर तत्काल दुनियाँले थाहा पायो कि छोरीको जन्म भयो ।
यसको पछाडिको मिथक फरक रहेको छ । के भनिन्छ भने त्रेतायुगमा रामावतारको समयमा माता कैकेयीले रामलाई वनवास दिएकी थिइन् । राम वनवास गएपछि कैकेयीलाई निकै पछुतो भयो । रामलाई वनवास पठाउनुको मुख्य उद्देश्य थियो आफू राजमाता बन्न चाहनु र आफ्नो छोरालाई राजा बनाउनु । यी दुवै उद्देश्य पूरा भएनन् र जग हँसाइ भयो । राम वनवासबाट फर्केर आएपछि रामसित अनुनय गरिन् – मलाई माफ गर छोरा । रामले भने – मैले माफ गर्नुपर्ने केही छँदैछैन । तपाईंले मेरो हितमा गर्नुभएको हो । तपाईंकै कारण मैले दुनियाँ देख्न पाएँ । जुन उद्देश्यले अवतार लिएको थिएँ, त्यो उद्देश्य पूरा गर्न पाएँ । तपाईँको मनमा त्यो भावना पनि मेरै कारणले आएको थियो । त्यो सब माया थियो । अनि माताले छोरासित माफी माग्नु भनेको त छोराको अपराध हुन जान्छ । माताले दिएको श्राप पनि छोराको लागि आशीर्वाद हुन्छ भने तपाईंले त मलाई केही पनि भन्नुभएन । जे भन्नुथियो पिताजीलाई भन्नुभयो र मैले मातापिताको आज्ञापालन गरेको हुँ । जतिभन्दा पनि कैकेयीको चित्त नबुझेपनि उनले भनिन् – मलाई माता भन्दछौं तर म आफूलाई माफ गरेको त्यति बेला मान्नेछु जति बेला तिमी मेरो कोखबाट जन्म लिन्छौं । अनि रामले भने – द्वापर युगको अन्त्यमा म तपाईंकै कोखबाट जन्मिने छु । अनि रामको मनमा भएको थियो – जन्म त तपाईंको कोखबाट लिनेछु तर दूध चाहिं कौशल्याकै पिउने छु । यसैकारण त्यस्तो परिस्थिति निर्माण भएको हो । अर्थात्, द्वापरको अन्त्यमा विष्णुको अवतार श्रीकृष्णको जन्म देवकीको कोखबाट भएको हो र देवकी चाहिं त्रेतायुगकी तिनै कैकेयी हुन् तथा यशोदा कौशल्या ।
जन्मेको केही बेरपछि यमुनाको पानीमा आफ्नो खुट्टा छुवाउँदा यमुनाले वसुदेवलाई बाटो दिनु, गोकुलमा यशोदाले छोरीको जन्म दिएर बेहोश भएको अवस्थामा वसुदेव पुगेर छोरालाई त्यहाँ राखी छोरीलाई लिएर कारागार पुग्नुजस्ता चामत्कारिक घटनाहरू कृष्णसित जोडिएका छन् । कृष्णले बाल्यावस्थामा नै राक्षसी पुतना, शकटासुर, तृणावर्तलगायत राक्षस–राक्षसीको वध गरेका थिए जुन सामान्य मानिसको लागि असम्भव थियो । कृष्णको जीवन चरित्रसित जोडिएको गोचरण लीला, गोवर्धनलाई एकै हातले उचालेर एक औलामा कैयँैं दिनसम्म राख्नु जसबाट इन्द्रको घमण्ड दमन हुनु र रासलीला निकै महत्वपूर्ण छन् । जब उनले कंसको वध गरे, तब उनको व्यापकतामा विशालता आयो । श्रीकृष्णलाई अद्भूत व्यक्तित्वको रूपमा दुनियाँले सम्मान गर्न थाले । कंस वधपश्चात् नै टाढाटाढाका मानिसले पनि श्रीकृष्णलाई अवतार मान्न थाले । कंस वधभन्दा पहिलेका घटनाहरूप्रति सबैको विश्वास भयो ।
महाभारत युद्धका नायक श्रीकृष्णलाई नै मानिएको छ । अर्जुनलाई युद्धको निम्ति तयार पार्ने र आफू सारथि बन्ने श्रीकृष्णको कूटनीति साँच्चीकै अविश्वसनीय थियो । यद्यपि जब चीरहरण भएको थियो त्यति बेला नै पाण्डवहरूलाई विश्वास भएको थियो कि श्रीकृष्णले जति धेरै सङ्कट हुन्छ, त्यति विराट सहयोग गर्न सक्छन् । सम्मुख भए पनि वा टाढा भए पनि कुनै पनि घटना श्रीकृष्णको नजरभन्दा टाढा रहँदैन । पाण्डवलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने कुरामा श्रीकृष्ण अत्यन्त गम्भीर छन् । मानिसको चक्षुले हेर्ने र सामान्य मानिसको मस्तिष्कले विचार गर्ने हो भने कृष्ण एक अद्भूत र अविश्वसनीय व्यक्तिको रूपमा देखा पर्छन् तर हरेक परिस्थितिसित जुध्दै श्रीकृष्णले परिस्थितिसित डराउनुहुँदैन र त्यसको सामना गरेर विजय वा पराजय जे भए पनि स्वीकार गर्नुपर्छ भन्ने सन्देश दिएका छन् । आफू बलियो हुँदा पनि र सबैलाई संहार गर्ने क्षमता हुँदा पनि श्रीकृष्णले विध्वंसभन्दा निर्माण ठूलो कुरो हो भन्ने देखाउन समुद्रमा द्वारिकाको निर्माण गरे, गराए ।
आजभोलि विभिन्न तथ्यहरूले श्रीकृष्णको अस्तित्वलाई प्रमाणित गरेका विचारहरू आउन थालेका छन् । पौराणिक तथ्यभन्दा भौतिक तथ्यमा विश्वास गर्नेहरूले पनि श्रीकृष्णलाई ऐतिहासिक व्यक्तित्वको रूपमा स्वीकार गर्न थालेका छन् । साथै, भारतभन्दा निकै टाढा पनि श्रीकृष्णलाई देवताको रूपमा स्वीकार गरिएको पाइन्छ । इस्कोन समूहमार्फत श्रीकृष्णलाई अनेकौं देशमा विस्तार गरिएको छ । यति मात्र नभएर अन्य धर्ममा पनि श्रीकृष्णको छविलाई सम्मान गरिएको पाइन्छ । जैन धर्ममा पनि कृष्णलाई ठूलो सम्मान छ । बौद्धधर्मको जातक कथामा कृष्णको चरित्रसित मेल खाने आख्यान छ । सिख धर्ममा पनि कृष्णलाई चौबीस अवतारमा गणना गरिएको पाइन्छ । बहाई पन्थमा पनि श्रीकृष्णको प्रसङ्ग पाइन्छ । यहाँसम्म कि इस्लाम धर्मावलम्बीमध्ये अहमदिया नामक एक समूहले पनि श्रीकृष्णको अस्तित्व र औचित्यलाई धार्मिकरूपमा स्वीकार गरेको छ ।
भौतिकरूपमा श्रीकृष्ण १२४ वर्ष बाँचेका थिए । यति लामो आयुमा श्रीकृष्णको जीवनचरित्र यति विशाल बन्न पुगेको छ कि अनेक कोणबाट अध्ययन गर्न सकिन्छ । यदि धार्मिक अन्धतालाई छोडेर भौतिकरूपमा पनि विचार गर्ने हो भने कृष्णले कति विराट जीवन बाँचे र कति क्षेत्रमा आफ्नो अमर चरित्र निर्माण गर्न सके ? सबैको मान्य भएर पनि एक योद्धाको सारथि बन्नु चानचुने कुरो होइन । सामान्य मानिसको लागि श्रीकृष्णका एकएक कार्यबाट आफ्नो जीवनलाई महान् बनाउने अनेक सूत्रहरू फेला पर्न सक्छ ।