अमेरिकी प्रथम महिला पुनः कोरोना सङ्क्रमित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

वाशिंगटन, १९ भदौ/एपी

अमेरिकी प्रथम महिला जिल बाइडेन पुनः कोभिड–१९ बाट सङ्क्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमवार उनी कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

७२ वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षण मात्र देखिएको जनाउँदै राष्ट्रपतिको कार्यालयले उनी डेलावेयरको रेहोबोथ समुद्री किनारको घरमा बस्ने जनाएको छ । एक वर्ष अघि पनि प्रथम महिला बाइडेनलाई कोभिड सङ्क्रमण भएको थियो । कोभिड परीक्षण नियमित जारी राख्ने र लक्षणहरूको निगरानी गरिने राष्ट्रपतिको कार्यालयले बताएको छ ।

पछिल्ला केही सातायता संयुक्त राज्य अमेरिकामा कोरोना सङ्क्रमण बढेको छ भने बिरामीको अस्पताल भर्ना दरमा पनि वृद्धि भएको छ ।

यसैबीच एनबिसी न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दैै देशमा फेरि कोभिडको अर्को लहर आएको सङ्केत गरेको छ । बितेका दुई सातामा औसत दैनिक १०,००५ जना सङ्क्रमित अस्पताल आएका तथा १,३९७ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको छ । कोभिड–१९ बाट दैनिक ५०७ जना बालबालिका पनि पीडित भइरहेका छन् । अमेरिकी अधिकारीहरूले कोरोनाविरुद्ध खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।  रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।