पटकपटक रेलमार्गको एलाइनमेन्ट परिवर्तन, चुरे फेद निजगढ नपाको बागदेव हुँदै सर्भे

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, १७ भदौ/

राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको थप स्थलगत कार्यले निजगढमा गति लिन सकेको छैन ।

पटकपटकको छलफलपछि यसअघिसम्म निजगढको भमरा–बकैया खोला दोभान हँुदै बकैया खोलाको पूर्वी किनारको खोलाभित्रबाटै रेलमार्गको एलाइनमेन्ट जाने रेल विभागका प्राविधिकले बताए पनि पछिल्लो समय गत चैत २५ गते निजगढ नपाको सभाहलमा निजगढ नपाका जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, विभिन्न राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, विभिन्न सरोकारवाला सङ्घसंस्था, सम्भावित प्रभावित क्षेत्रका स्थानीयलगायतसँग छलफल भएसँगै उक्त मार्ग पुनः परिवर्तन भएको जनाएको थियो ।

निजगढ नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निजगढका स्थानीयहरूलाई जानकारी दिंदै रेल विभागका इन्जिनीयर सुमोद पोखरेलले एलाइनमेन्ट परिवर्तन भएको बताउँदै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र वीरगंज–काठमाडौं रेलमार्गको स्टेशन एकै स्थानमा बनाउनुपर्ने भएकोले अघिल्लो एलाइनमेन्ट परिवर्तन हुन पुगेको बताएका थिए । उक्त स्टेशनका लागि कम्तीमा तीन सय मिटर चौडाइ र तीन किलोमिटर लम्बाइ भएको जमीनको आवश्यकता पर्ने भन्दै भारतीय रेलवे प्राविधिकहरूले तयार गरिएको एलाइनमेन्ट डिजाइनलाई नै स्वीकार गर्नुपर्ने अवस्था आएपछि एलाइनमेन्ट परिवर्तन हुन गएको उनको भनाइ थियो ।

रेलमार्गको एलाइनमेन्ट अनुसार रौतहटको चोचाबाट महेन्द्र राजमार्गको निजगढको सिगौल जाने गेटभन्दा बढीमा पाँच सय मिटर राजमार्ग पार गर्दै घना वन क्षेत्रभित्र पस्दै सुकेपोखरी दक्षिण आसपास भएर चुरे फेदस्थित निजगढ नपा–५ बागदेव खेलकूद मैदान आसपास हुँदै बकैयाखोला पार गर्दै निजगढ नपा–१० लाल हुँदै वन क्षेत्र भएर डमरपुर छिचोल्ने एलाइनमेन्टमा देखाइएको थियो । यसरी वन क्षेत्र मास्दै, बस्ती र खेतीयोग्य जमीनसँगै चुरे पहाडलाई प्रभावित हुने गरी लैजाने उक्त एलाइनमेन्टलाई पनि पुनर्विचार गर्नुपर्ने स्थानीयहरूको आवाज उठेको थियो ।

पटकपटक भएको छलफलपछि यसअघि निजगढको घनाबस्तीको बीच पार्दै भमरा नदीकाट हुँदै राजमार्ग पार गर्दै पुरानो बजार क्षेत्र बुद्धचोक, जमुनापैनी, असी बिघा, पुरानो निजगढ हुँदै बकैया खोला पार गर्ने एलाइनमेन्टविरुद्ध रेलमार्गपीडित सरोकार समिति गठन गरी चर्को विरोध भएपछि रेल विभागले एलाइनमेन्ट परिवर्तन गर्दै भमरा नदीकाट भएर बकैयाखोला पूर्व किनारको ड्याम्पबाट लगभग ७५ मिटर खोलाभित्रैबाट एलाइनमेन्ट तय गरिएको रेल विभाग काठमाडौंका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशचन्द्र भण्डारीले निजगढ नपाको सभाहलमा कार्यक्रम आयोजना गरी स्थानीयहरूलाई जानकारी दिएका थिए ।

पटकपटक रेलमार्गको रूट यकीन हुन नसके पनि पछिल्लोपटक लगभग दुई महीनाअघि रौतहटको चोचाबाट महेन्द्र राजमार्गको निजगढ सिगौल जाने गेटभन्दा बढीमा पाँच सय मिटर राजमार्ग पार गर्दै घना वन क्षेत्रभित्र पस्दै सुकेपोखरी दक्षिण आसपास भएर चुरे फेदस्थित निजगढ नपा–५ बागदेव खेलकूद मैदान आसपास हुँदै वडा नं ४ बागदेवस्थित बस्ती, खेतीयोग्य जमीन छिचोल्दै बकैयाखोला पार गर्दै निजगढ नपा–१० लाल हुँदै वन क्षेत्र भएर डमरपुर छिचोल्ने गरी सर्भे भएको बागभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर सिङ्तान र शहीद हीरालाल पार्क व्यवस्थापन समितिका अध्यक्ष रमेश अर्यालले बताए । सर्भे गर्दै ठाउँठाउँमा सिमेन्टेड पिलरहरू गाड्ने काम भएको छ ।

अघिल्लोपटक प्रभावित स्थानीयहरूले कुनै पनि हालतमा बस्ती बीचबाट रेलमार्ग लैजाने कार्य स्वीकार्य नहुने भन्दै रेलमार्गपीडित सरोकार समिति गठन गरी निजगढ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, बारामार्फत रेल विभाग, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारलगायत सम्बन्धित निकायहरूमा ज्ञापनपत्र बुझाएपछि त्यस बेला थालिएको सर्भे कार्य तत्कालै रोकिएको थियो ।

अघिल्लो वर्ष रेल विभागसँग निजगढ नपाको सभाहलमा पटकपटक छलफल गरी वैकल्पिक स्थानको खोजी गर्न दबाब सिर्जना गरेपछि रेल विभागका तत्कालीन महानिर्देशक प्रमिला बज्राचार्य, रेलमार्गका लागि युसिङ कोरियन सर्भे कन्सल्ट्यान्टका मुख्य सर्वेयर मिस्टर कु, मिस्टर सोन, रेल विभागका सिनियर डिभिजन इन्जिनीयर देवेन्द्रप्रसाद साह, नेपाली सर्भे कन्सल्ट्यान्टका जियोलोजिस्ट अच्युत कोइरालासहितको प्राविधिक टोलीले निजगढको बकैया खोलाको पूर्वीतर्फको क्षेत्रको स्थलगत अनुगमन २०७७ फागुनको दोस्रो सातामा गरेको थियो ।

पछिल्लोपटक निजगढ नपामा रेलमार्गको विषयमा भएको बृहत् छलफलमा निजगढ नगरप्रमुख सुरथ पुरीले निजगढ भएर जाने रेलमार्ग मानवबस्ती, खेतीयोग्य जमीन, वनजङ्गल क्षेत्र आदिलाई कमभन्दा कम क्षति हुनेगरी सर्भे कार्य अघि बढाउन आग्रह गरेका थिए ।

रेलमार्गका लागि कम्तीमा पनि ५० मिटर चौडाइको भूभाग आवश्यक पर्ने, ३५० मिटर दायाँ–बायाँको क्षेत्रलाई समेटी सर्भे गर्नुपर्ने रेलवे विभागले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।