राधेश्याम पटेल, वीरगंज, १८ भदौ/
वीरगंजका एक युवकले अर्गानिक कृषि फर्म सञ्चालनमा ल्याएका छन् । ४३ वर्षीय जगमोहन कुशवाहा पहिले अर्काको केबलको काम हेर्थे तर अब आफ्नै स्टार्टअप व्यवसाय शुरू गरेकोमा खुशी छन् ।
वीरगंज–१२ मुर्ली बस्ने कुशवाहा कक्षा १२ सम्म पढेका छन् । २०५२ सालदेखि केबलको अर्काको काम गर्दै आएकोमा बजारमा छाएको मन्दीको कारण आफ्नो क्यारियर कृषि फर्मतर्फ मोडेका हुन् । अर्काको जागीर गरेर परिवार पाल्न समस्या हुन थालेपछि आफ्नै व्यवसायतर्फ होमिएका हुन् ।
विगत चार महीनादेखि आफ्नै व्यवसायमा रमाउन थालेको उनले जानकारी दिए । वीरगंज–१५ भेडियाहीमा रहेको आफ्नै पुस्तैनी १० कट्ठा जग्गामा सानै लगानी भए तापनि अर्गानिक कृषि फर्म खोलेर उत्पादन शुरू गरेका छन् । राधाकृष्ण अर्गानिक कृषि फर्मको नामले सञ्चालनमा ल्याएको कृषि फर्ममा उनले तरकारी, फलफूल, माछामासु उत्पादन शुरू गरेका छन् । हाल तरकारी र लोकल कुखुराको उत्पादन भइरहेको छ भने अन्य उत्पादन हुने अवस्थामा रहेको उनले बताए ।
करीब २५ लाखको लागतमा प्रारम्भिक चरणमा कृषि फर्म सञ्चालनमा ल्याएको बताउँदै आगामी दिनमा लगानी थप्दै जाने उनले जिकिर गरे । “अहिले केही महीना मात्रै बितेको छ, प्रारम्भिक चरणमा तरकारी र कुखुराको उत्पादन शुरू भइसकेको छ,” उनले भने, “अहिले अर्गानिक तरकारीमा झिंगनी, करैला, बोडी, लौका, खुर्सानी लगाएको छु, त्यसैगरी फलफूलमा कागती, आँप, लिची, कटहर, मेवा छ र माछामासुको पनि उत्पादन पनि थालेको छु ।”
कृषि फर्ममा सात सयवटा कागती, दुई सयवटा मेवा, २५ वटा आँप, लिची र कटहरका १५/१५ वटा बिरुवा रोपिएको उनले बताए । त्यसैगरी, लोकल कुखुराको लागि खोर बनाएर चार सयवटा चल्ला राखिएको उनले बताए ।
बजारमा अत्यधिक माग भएकोले लोकल कुखुरा पालेका हौं, अब बेच्ने बेला भइसकेको छ, उनले जानकारी गराए । करीब एक कट्ठामा खनिएको पोखरीमा माछा पाल्न शुरू गरेको उनले बताए । पोखरीमाथि तीन तले गोठ निर्माण गरी हाँस, त्यसमाथि कुखुरा र त्यसमाथि खसी–बाख्रा पाल्ने योजना रहेको उनले बताए ।
विषादीयुक्त तरकारी र फलफूल बजारमा बिक्री वितरण हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुनाले आफ्नो फर्मको उत्पादन थारै भएपनि अर्गानिक हुने र पहिचान बनाउनको लागि केही फरक काम गर्ने योजनाका साथ अघि बढेको उनको भनाइ छ ।
“बजारका सबै सामानमा मिसावट हुन्छ, त्यसले मानिसको स्वास्थ्यमा दिगो असर पारिरहेको छ,” उनले भने, “एकपटक मेरो फर्मको उत्पादन कसैले किनेर उपभोग्य गरेमा खोजीखोजी मकहाँ आओस्, त्यस अनुसार ब्रान्डिङ गर्दैछु ।”
उनले आफ्नो उत्पादनमा कुनै सौदाबाजी नहुने र शुद्ध अर्गानिक उत्पादन गर्ने प्रतिबद्धता रहने बताए ।
फर्म सञ्चालनमा ल्याएपछि दुईजनाले रोजगार पाएको र उनी पनि फर्ममा दिनकै १२ घण्टा खट्ने गरेको बताए ।
पढेर पनि स्वदेशमा युवालाई रोजगार नपाउनाले लाखौं युवा विदेश पलायन भइरहेको अवस्थामा परिवारको सामुन्ने बसेर मिहिनेत गर्दा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सोचका साथ अर्गानिक कृषि फर्मको व्यवसायमा लगानी गरेको उनको दृढ सङ्कल्प छ ।