प्रस, वीरगंज, ११ भदौ/
इन्धन आयात हुने मुलुककै प्रमुख नाका वीरगंजबाट गत आर्थिक वर्षमा सबैखाले इन्धनको आयात घटेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँस तथा कोइलालगायतका इन्धनहरूको आयात अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको तथ्याङ्कले देखाएको छ ।
वीरगंज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा यो नाका हुँदै ३७ प्रकारका इन्धन आयात भएका छन् । तीमध्ये अधिकँंशका आयात घटेको छ । इन्धनबाट सङ्कलन हुने राजस्वले गत वर्ष यो भन्सारले सङ्कलन गरेको कुल राजस्वमा करीब ४८ प्रतिशत योगदान गरेको थियो ।
आव २०७८÷७९ मा यो नाका हँुदै रु एक खर्ब २४ अर्ब बराबरको १३ लाख २२ हजार किलोलिटर डिजेल आयात भएको थियो । गत आव २०७९/८० मा भने यो नाका हँुदै रु एक खर्ब १२ अर्ब बराबरको १० लाख ३० हजार किलोलिटर डिजेल आयात भएको थियो । तुलनात्मकरूपमा डिजेलको आयातमा करीब २२ प्रतिशतले कमी आएको छ ।
त्यसैगरी, आव २०७८/७९ मा यो नाका हँुदै रु ३७ अर्ब ९९ करोड बराबरको तीन लाख ९० हजार किलोलिटर पेट्रोल आयात भएको थियो भने आव २०७९/८० मा रु ३५ अर्ब ६८ करोड बराबरको तीन लाख ६२ हजार किलोलिटर पेट्रोल आयात भएको थियो । तुलनात्मकरूपमा पेट्रोलको आयातमा करीब सात प्रतिशतले कमी आएको छ ।
आव २०७८÷७९ मा यो नाका हुँदै रु ३३ अर्ब २६ करोड बराबरको २६ करोड ९१ लाख किलो एलपी ग्याँस आयात भएकोमा आव २०७९/८० मा रु ३० अर्ब ३० करोड बराबरको २६ करोड ८२ लाख किलो एलपी ग्याँस आयात भएको थियो । तुलनात्मकरूपमा ग्याँसको आयातमा शून्य दशमलव ३३ प्रतिशतले कमी आएको छ ।
आव २०७८/७९ मा रु १२ अर्ब ८५ करोड बराबरको ३० लाख किलोलिटर हवाई इन्धन आयात भएकोमा आव २०७९/८० मा रु १५ अर्ब ४२ करोड बराबरको १२ लाख १७ हजार किलोलिटर हवाई इन्धन आयात भएको थियो । यसको आयातमा करीब ६० प्रतिशतले कमी आएको छ ।
त्यसैगरी, आव २०७८/७९ मा यो नाका हुँदै रु २० अर्ब ३२ करोड बराबरको ९७ करोड ८७ लाख किलो कोइला आयात भएकोमा आव २०७९/८० मा रु १३ अर्ब २० करोड बराबरको ५३ करोड ४९ लाख किलो कोइला आयात भएको थियो । कोइलाको आयात तुलनात्मकरूपमा करीब ४६ प्रतिशतले घटेको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम समग्रमैं अर्थतन्त्र सङ्कटमा रहेकोले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा इन्धनको आयात घटेको बताउँछन् । इन्धनको आयात घट्दा स्वदेशी मुद्रा बाहिरिने क्रम पनि घट्छ, जुन देशको लागि सुखद हो, उनले भने, तर अघिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा बर्सेनि इन्धनको आयात बढ्दो र त्यसमा बर्सेनि खर्बौं रुपैयाँ बाहिरिने क्रममा भने आर्थिक मन्दीकै कारणले भएपनि कमी आएको बताए । उनले इन्धनले चल्ने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्न सके इन्धनको आयात अझै घट्दै जाने बताए ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवाल सर्वाधिक इन्धन आयात हुने नाकाबाट इन्धनकै आयात घट्नुमा जारी आर्थिक मन्दी नै मुख्य कारण हुन सक्ने बताउँछन् । आयात घटे पनि भन्सारले गत आवमा सङ्कलन गरेको कुल राजस्वमा इन्धनले करीब आधा योगदान गरेको उनले बताए ।