अहमदाबाद, गुजरात, ११ भदौ/एएनआई
चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् ।
अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेशन सेन्टर (एसएसी)का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी तय गर्न काम गरिरहेको बताए ।
वैज्ञानिकका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङपछि मात्र वास्तविक काम शुरू हुन्छ । गत अगस्त २३ मा चन्द्रयान–३ को ल्यान्डर मोड्युल चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेपछि भारतले ठूलो फड्को मारेको थियो ।
अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने यो चौथो देश बनेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)को एक प्रमुख केन्द्र स्पेस एप्लिकेशन सेन्टरका निर्देशक देसाईका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ, प्रज्ञान रोभरको गति र पेलोडको माध्यमबाट विज्ञानको डाटा प्राप्त गर्ने छ पाङ्ग्रे रोभर र ल्यान्डर विक्रमसँग जोडिएको छ । ट्रान्समिटेड डाटाको अंश पेलोडको उद्देश्य सन्देश प्राप्त गर्नु हो ।
“हाम्रा दुई मुख्य उद्देश्य सफलतापूर्वक पूरा भएका छन्, तर हाम्रो तेस्रो उद्देश्य जारी छ,” उनले भने ।
प्रज्ञान रोभर समयको दौडमा रहेको उल्लेख गर्दै उनले भने, “हाम्रो ध्यान चन्द्रमाको दक्षिणी ध्रुवको धेरैभन्दा धेरै दूरीको क्षेत्रलाई समेट्ने हो । यसबाट प्रज्ञान रोभरले थप प्रयोगहरू गर्न सक्छ र हामी पृथ्वीमा विवरण (डेटा)प्राप्त गर्न सक्छौं ।”
“हामीसँग यो मिसनका लागि जम्मा १४ दिन मात्र बाँकी छ, जुन चन्द्रमामा एक दिन बराबर हो, त्यसैले चार दिन पूरा भएको छ । बाँकी १० दिनमा हामीले गर्न सक्ने थप प्रयोग र अनुसन्धान महŒवपूर्ण हुनेछन् । हामी समयको दौडमा छौं किनभने यी १० दिनमा हामीले अधिकतम काम गर्नुपर्नेछ र इसरोका सबै वैज्ञानिक यसमा काम गरिरहेका छन्,” देसाईले भने ।
वैज्ञानिकहरूले भोग्नुपरेका कठिनाइमा जोड दिंदै उनले भने, “रोभरले चन्द्रमाको सतहमा दैनिक ३० मिटरको दूरी तय गरेकोमा १२ मिटर मात्र दूरी पार गरेको छ । यहाँ केही सेवा उपलब्ध नहुँदा रोभरको आवागमनमा पनि समस्या भइरहेको छ ।” रासस